सरकार गठनको छोटो समयमै सरकारको सक्रियताले एक प्रकारको तरङ्ग सिर्जना गरेको छ । जसले नागरिकमा आशा जगाउने काम गरेको छ । सुशासनलाई मूल मन्त्र बनाएको वर्तमान सरकारले विगतमा अल्झिएका केही संवेदनशील विषयहरूमा सक्रियता देखाएको छ । विशेषगरी जेनजी आन्दोलनमा दमन भएको भनी सिफारिस गरिएका व्यक्तिहरूलाई पक्राउ गर्नु, विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनु र राज्य स्रोतको दुरुपयोग गर्नेहरूमाथि कारबाही अघि बढाउनु जस्ता गतिविधिले समाजमा तरङ्ग पैदा गरेको छ ।
यस्ता गतिविधिहरूले लामो समयदेखि कमजोर बनेको कानूनी शासनप्रति नागरिकको भरोसा पुनः स्थापित गर्न मद्दत पु¥याउन सक्छ । साथै, गुण्डागर्दीमा संलग्न व्यक्तिहरूमाथि गरिएको कारबाहीले समाजमा शान्ति र सुरक्षाको अनुभूति दिलाउन थालेको छ । सरकारी कार्यालयहरूमा विचौलियाको प्रभाव घटाउने प्रयासले सेवा प्रवाहलाई पारदर्शी र सरल बनाउन सक्ने अपेक्षा गरिएको छ । यी सबै कदमहरूलाई सुशासनतर्फको प्रारम्भिक संकेतका रूपमा लिन सकिन्छ । सरकार भर्खरै मात्र गठन भएको छ । त्यससैले परिणाम आउन त केहि समय पर्खनै पर्छ तर गतिविधिहरु परिणाम उन्मूख बनाउन भने अहिले देखिनै जरुरी छ ।
सरकारको आक्रामकताका कदमहरू केवल प्रारम्भिक ‘स्टन्ट’ वा प्रचारका सामग्रीमा सीमित भने हुनु हुँदैन । विगतमा पनि धेरै पटक प्रारम्भमा कडा देखिएका कदमहरू पछि निरन्तरता नपाउँदा परिणाममुखी हुन सकेका उदाहरणहरू प्रशस्त छन् । त्यसैले अहिले देखिएका गतिविधिहरूलाई दीर्घकालीन रणनीतिसँग जोड्दै निरन्तरता दिनु अत्यावश्यक छ । कानूनी कारबाही निष्पक्ष, पारदर्शी र राजनीतिक प्रभावबाट मुक्त हुन सके मात्र यसको प्रभाव दिगो हुन्छ ।
सरकारले प्रचारभन्दा परिणाममा ध्यान केन्द्रित गर्नुपर्ने समय यही हो। जनताले देख्न चाहेको कुरा भाषण वा आश्वासन होइन, व्यवहारमा देखिने सुधार हो । सुशासन स्थापना गर्नका लागि नीतिगत सुधार, संस्थागत सुदृढीकरण र जवाफदेहिताको स्पष्ट संरचना आवश्यक पर्छ । केवल व्यक्तिलाई पक्राउ गर्नु मात्र पर्याप्त हुँदैन, प्रणालीगत कमजोरीहरूलाई पनि सुधार गर्नुपर्ने हुन्छ । अन्ततः, अहिले देखिएका आशाका किरणहरूलाई स्थायी उपलब्धिमा रूपान्तरण गर्नु सरकारको प्रमुख जिम्मेवारी हो। यदि यी प्रयासहरूलाई निरन्तरता दिइयो भने मात्र नागरिकमा विश्वास बढ्नेछ र सुशासनको लक्ष्य नजिक पुग्न सकिनेछ । अन्यथा, यी सबै प्रयासहरू क्षणिक चर्चामा सीमित भई पुनः निराशामा परिणत हुने जोखिम पनि उत्तिकै रहन्छ । अहिले सरकारले गरि रहेका कार्यहरु परिणाम नभएर गतिविधिहरु मात्रै हुन् । यसैलाई परिणाम मानेर सरकार ढुक्क हुनु हुँदैन । यि गतिविधिहरुलाई निरन्रता र निकाश दिने कार्य सम्म नागरिकहरुले चनाखोपूर्वक प्रतिक्षा गरि रहेका छन् । त्यसैले सरकार गतिविधिमा मात्र नरमाई परिणाम सम्म पुग्न जरुरी छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो