विभिन्न स्थानबाट आठ जना मृत फेला

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । देशका विभिन्न आठ स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । झापा, मोरङ, पाँचथर, चितवन, काठमाडौँ, कञ्चनपुर, लमजुङ, प्युठानमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।

झापाको झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ स्थायी घर भई विगत ९–१० वर्षदेखि चारआली क्षेत्रमा मागी खाई हिँड्ने ३८ वर्षीय तपस नेपाली मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका–७ स्थित बजरंगवली मन्दिर नजिकैको झाडीमा ५५ वर्षीय राजु उराउको शव फेला परेको छ। पाँचथरको फिदिम नगरपालिका–२ बतासेस्थित समाधि स्थल छेउमा ६६ वर्षीय पुष्प प्रसाद ढुङ्गाना मृत भेटिएका छन् ।  

काठमाडौँ महानगरपालिका–२५ भेडासिङमा डेरा गरी बस्ने ३८ वर्षीय शशि विक्रम थापा आफ्नै कोठा नजिकै मृत फेला परेका छन् ।

यता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित शान्ति सामुदायिक वनको खोलामा अन्दाजी २५ वर्षीया महिलाको शव भेटिएको छ, जसको पहिचान खुल्न सकेको छैन । त्यस्तै लमजुङको दुधपोखरी गाउँपालिका–६ स्थित जङ्गलमा ७४ वर्षीय राज कुमार कामी र प्युठानको गौमुखी गाउँपालिका–६ स्थित जङ्गलमा १९ वर्षीया सर्मिला घर्ती मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा पनि अन्दाजी ६० वर्षीया महिलाको शव फेला परेको छ, उनको पनि नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यी सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया