चुनावको चटारो : एकै दिनमा झापादेखि उदयपुरसम्म वालेन

खगेन्द्र कार्की

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नं। ५ का उम्मेदवार वालेन्द्र ९वालेन० साह एकै दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा सक्रिय देखिएका छन् । बुधबार उनको यात्रा मोरङको उर्लाबारी–पथरी, लेटाङ, रंगेली हुँदै विराटनगरसम्म पुग्यो ।

विराटनगरबाट दुहवी हुँदै इटहरी पुगेका साहले प्रत्येक स्थानमा पार्टी कार्यालयमा पुगेर घण्टी बजाएर स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गरेका थिए । सचिवालयका अनुसार, भेटघाटका क्रममा साहले पार्टी संगठन विस्तार, आगामी राजनीतिक रणनीति, साथै स्थानीय तहका समस्या र सम्भावनाका विषयमा संवाद गरेका थिए ।

वालेनले सुशासन, पारदर्शिता र नागरिक सहभागितालाई विकासको मूल आधारका रूपमा प्रस्तुत गर्दै राज्य संयन्त्रमा व्याप्त बेथिति, अनावश्यक खर्च र जवाफदेहिताको अभावप्रति कडा टिप्पणी गरेका थिए । उनले भने, “नागरिक स्वयं सचेत र सक्रिय नभएसम्म वास्तविक परिवर्तन सम्भव छैन । स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुन्छ ।”

इटहरीमा पनि उनले नेता तथा कार्यकर्तासँग विचारविनिमय गरेपछि इनरुवा जाने कार्यक्रम तय भई इनरुवामा कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक भेला भएका थिए तर कार्यव्यस्तताले वालेन पर्यटकीय स्थल बराहक्षेत्र पुगे र उतैबाट उदयपुर लागे । बराहक्षेत्रमा सप्तकोशी नदीमा बोटमार्फत विभिन्न स्थानको अवलोकन गर्दै उदयपुरसम्म पुगेका साहले सामाजिक सञ्जालमा एक स्टाटसमार्फत क्षेत्रको सांस्कृतिक महत्वबारे प्रकाश पारेका छन् ।

उनले लेखेका छन्– खुवालुङ सप्तकोशी क्षेत्र किराँती र नेपाली समुदायका लागि पवित्र स्थल हो र मुन्धुममा यसलाई “सभ्यताको द्वार” मानिन्छ । मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो । साथै, यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँछ भने इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्दछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया