याैन श्रमिक महिलाहरुलाई लक्षित गर्दै ‘हरियाली चुरा र मेहेन्दी कार्यक्रम’ सम्पन्न

सुप्रिया राई



इटहरी । महिला सहयोगी समूह इटहरीले साउन महिनाको विशेष अवसरमा याैन श्रमिक महिलाहरुलाई लक्षित गर्दै ‘हरियाली चुरा र मेहेन्दी कार्यक्रम’ सम्पन्न गरेको छ।


कार्यक्रममा सहभागी महिलाहरुलाई हरियो चुरा, हरियो पोते, हरियो चिम्टी, हरियो नेल पालिस लगायतका सामग्रीहरु वितरण गरिएको थियो। साथै, मिठो मसिनो खुवाएर उनीहरुलाई आत्मीयताका साथ सम्मान गरिएको समूहले जनाएको छ।


वि.सं. २०६० सालमा गठन भएर 2065 साल देखि कानुन प्राप्त गरि महिला सहयोगी समूहले इटहरी क्षेत्रका होटल, क्याविन र रेष्टुरेन्टमा काम गर्दै आएका याैन श्रमिक दिदीबहिनीहरुको हकअधिकारका पक्षमा निरन्तर रुपमा काम गर्दै आएको छ।


कार्यक्रमका बारेमा जानकारी दिँदै समूह प्रमुख विमला मल्लले भनिन्, "याैन श्रमिक महिलामध्ये धेरैजसो घर छाडेर आएका, श्रीमानसँग डिभोर्स भएका वा एकल अवस्थामा रहेका छन्। यस्ता महिलाहरु चाडपर्वका बेला माइती र आफन्त सम्झेर पीडामा रहने भएकाले उनीहरुलाई चाडपर्वको माया र आत्मीयता महसुस गराउन हामीले यस्तो कार्यक्रम आयोजना गरेका हौं।"


इटहरी, खनार, झुम्का, धरान लगायत क्षेत्रका ३० जना याैन श्रमिक महिलाहरुको सहभागिता रहेको कार्यक्रममा सहजीकरण कासीराम पोखरेलले गरेका थिए।

सुप्रिया राई
प्रतिक्रिया