विराटनगर/ विराटनगरको पुष्पलाल चोक–तिनपैनी सडकखण्डको जीर्ण अवस्थाप्रति आक्रोशित स्थानीयवासीले बिहीबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुली को गाडी रोक्न सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन्। स्थानीयले वर्षौंदेखि बिग्रिएको सडक मर्मतमा सरकार र महानगरपालिकाले चासो नदिएको भन्दै सडक अवरुद्ध गरेका हुन्।
विराटनगरको ल क्याम्पस अगाडि जम्मा भएका स्थानीयले मन्त्रीको सवारी गुड्ने क्रममा सडकमा सुतेर विरोध जनाएका थिए। आन्दोलनको नेतृत्व स्थानीय शिव भट्टराईले गरेका थिए। स्थानीयका अनुसार सडकको हिलो, धुलो र खाल्डाखुल्डीका कारण दैनिक रूपमा सवारी दुर्घटना भइरहेका छन्। मन्त्री तथा अन्य जनप्रतिनिधि सोही बाटोबाट आवतजावत गर्ने गरे पनि समस्या समाधानका लागि प्रभावकारी पहल नभएको उनीहरूको गुनासो छ।
विराटनगर महानगरपालिका–१ र ३ का बासिन्दाले बिहान करिब दुई घण्टा सडक अवरुद्ध गरेका थिए। प्रदर्शनकारीले सडकको दुर्दशाले सर्वसाधारणलाई दैनिक सास्ती खेप्न बाध्य बनाएको भन्दै तत्काल मर्मतको माग गरेका छन्। स्थानीयका अनुसार उक्त सडकमा दैनिक दुईदेखि चार वटासम्म सवारी दुर्घटना हुने गरेको छ।
आन्दोलनका अगुवा भट्टराईले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला ले पटक–पटकको आग्रहलाई बेवास्ता गरेको आरोप लगाए। उनले स्थानीयको समस्या राख्न जाँदा मेयरबाट गैरजिम्मेवार प्रतिक्रिया प्राप्त भएको दाबी गरे। भट्टराईका अनुसार आफूहरूले धेरै पटक डेलिगेसन गएर सडक मर्मतको माग गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर सडक आन्दोलन गर्नुपरेको हो।
प्रदर्शनका क्रममा मन्त्रीको गाडी घेराउ गरी चक्काजाम गरिएपछि मोरङ प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। सन्तोष श्रेष्ठ को नेतृत्वमा खटिएको प्रहरी टोलीले आन्दोलनकारीसँग वार्ता गरेको थियो। यद्यपि, आन्दोलनका बीचमा पनि एम्बुलेन्स, दूध बोक्ने सवारी र फोहोर व्यवस्थापनका गाडीलाई भने अवरोध नगरिएको स्थानीयले बताएका छन्।
वार्ताका क्रममा प्रहरीले तत्काल सडकका खाल्डाखुल्डी पुर्न गिट्टी उपलब्ध गराउने र दुई दिनभित्र समस्याको थप समाधान खोज्ने प्रतिबद्धता जनाएको थियो। त्यसपछि स्थानीयले अवरुद्ध सडक खुलाएका थिए। मोरङ प्रहरीका अनुसार छलफल र सम्झाइबुझाइपछि स्थिति सामान्य बनाइएको हो।
स्थानीयका अनुसार ओभरलोड सवारीसाधन, विशेषगरी टिपरहरूको अत्यधिक आवागमनका कारण सडक छिट्टै बिग्रिने गरेको छ। महानगरपालिकाले गत आर्थिक वर्षमा सडक मर्मत गरिएको दाबी गरे पनि कमसल निर्माण सामग्री प्रयोग गरिएकाले सडक छोटो समयमै पुनः जीर्ण बनेको उनीहरूको आरोप छ। स्थानीयले राजनीतिक आश्वासनभन्दा सुरक्षित र गुणस्तरीय सडक आवश्यक रहेको बताएका छन्।
प्रदर्शनकारीहरूले दुई दिनभित्र सडक सुधारका लागि ठोस प्रगति नदेखिए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। मोरङका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्र ले केहीबेरको अवरोधपछि सडक सञ्चालनमा ल्याइएको जानकारी दिए। स्थानीयको आन्दोलनपछि सम्बन्धित निकायमाथि सडक मर्मतको दबाब बढेको छ।