एजेन्सी । मेक्सिकोमा जारी फिफा विश्वकप फुटबलको २३औँ संस्करणमा एसियाली शक्ति दक्षिण कोरियाले प्रभावशाली पुनरागमन गर्दै विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक जित निकाल्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
चेक गणतन्त्रले दोस्रो हाफमा अग्रता बनाए पनि दक्षिण कोरियाले अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। कप्तान लाडिस्लाभ क्रेज्कीले ५९औँ मिनेटमा गोल गर्दै चेक टोलीलाई अघि बढाएका थिए। तर इन्–बोम ह्वाङले ६७औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेलमा फर्किएको दक्षिण कोरियाका लागि ह्योन–ग्यु ओहले ८०औँ मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे।
जितसँगै दक्षिण कोरिया तीन अंकसहित समूहको दोस्रो स्थानमा उक्लिएको छ। यसअघि उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै शीर्ष स्थान कब्जा गरेको थियो। गोलअन्तरका आधारमा मेक्सिको पहिलो र दक्षिण कोरिया दोस्रो स्थानमा छन्। चेक गणतन्त्र र दक्षिण अफ्रिका भने अंकविहीन छन्।
मेक्सिकोको एस्टाडियो एक्रोनमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। चेक टोलीले बल नियन्त्रणमा केही हदसम्म दबाब बनाए पनि दक्षिण कोरियाले संयमित खेल प्रस्तुत गर्दै दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो।
यसअघि प्रतियोगिताको भव्य उद्घाटन समारोह रंगीन सांस्कृतिक प्रस्तुति, संगीत तथा आतिशबाजीसहित सम्पन्न भएको थियो। पहिलो पटक ४८ टोली सहभागी रहेको विस्तारित विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै सुखद सुरुआत गरेको थियो।
अब समूह ‘ए’को दोस्रो चरणका खेलहरू झन् महत्वपूर्ण बनेका छन्। दक्षिण कोरियाले अर्को खेलमा आयोजक मेक्सिकोको चुनौती सामना गर्नेछ भने चेक गणतन्त्र पहिलो अंकको खोजीमा दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिनेछ।
zCqnQYsJJSU
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो