स्वास्थ्य र विकास नै मोरङ–३ का उम्मेदवार शर्माका मुख्य एजेन्डा

खगेन्द्र कार्की

इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा.सुनील शर्मा घरदैलो अभियानमा व्यस्त छन् । स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमार्फत पहिचान बनाएका शर्माले यसपटक पनि ‘स्वास्थ्य, सेवा र विकास’ लाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । अघिल्लो निर्वाचनमा ठूलो मतान्तरसहित जित हात पारेका उनी पुनः बलियो जनादेशसहित संसद पुग्ने लक्ष्यमा छन् ।

उनले मोरङ–३ मा पुनः चुनावी मैदानमा होमिँदा कस्तो अनुभूति बारेमा बताउँदै भने– अनुभूति भनेको जिम्मेवारीको हो । अघिल्लो कार्यकालमा जनताले दिएको विश्वासलाई मैले कर्मबाट प्रमाणित गर्ने प्रयास गरे । आज फेरि त्यही जनतामाझ जाँदा आत्मविश्वास छ, किनभने खाली आश्वासन होइन, काम लिएर आएको छु । स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा निरन्तर लागिरहेकै बताए । 

उनी यति खेर घरदैलो कार्यक्रममा रहेका छन् । घरदैलोमा मतदाताको प्रतिक्रियाको बयान गर्दै भने– अत्यन्तै सकारात्मक। धेरैले ‘डाक्टर साहेब, तपाईं हाम्रो दुःख–सुखमा सँगै हुनुहुन्थ्यो’ भनेर सम्झाइदिनु हुन्छ । खासगरी निःशुल्क स्वास्थ्य उपचार पाएका परिवारहरूको भावनात्मक समर्थन निकै बलियो देखिन्छ । त्यो नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।

स्वास्थ्य सेवा र स्वास्थ्य राजनीतिका विषयमा उनले प्रष्ट पार्दै भने– किनभने स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो । उपचार नपाएर कोही पनि गरिब मर्नु हुँदैन भन्ने मान्यताबाट पछि हटेको छैन् । अस्पताल, शिविर, निःशुल्क उपचार–यी कुनै नारा होइनन्, व्यवहारमा उतारिएका काम हुन् । राजनीतिले यदि जनताको पीडा कम गर्न सकेन भने त्यसको औचित्य हुँदैन ।

गरेका कामको ब्याख्या गर्दै उनले भने–हजारौँ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, नियमित स्वास्थ्य शिविर, जटिल रोगका बिरामीलाई सहुलियत उपचार, शिक्षा क्षेत्रमा सहयोग, सडक र पूर्वाधारमा पहल—यी सबै काम स्थानीयले देखेका छन् । संसदमा पनि स्वास्थ्य नीति र सामाजिक सुरक्षाका विषयमा निरन्तर आवाज उठाएँ ।

उनले घोषणापत्रमै स्वास्थ्यलाई निरन्तरता दिने बताएका छन् । भन्छन–अब स्वास्थ्य सेवालाई अझै संस्थागत बनाउने, गाउँ–गाउँमा आधारभूत उपचार सुनिश्चित गर्ने, शिक्षा र सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने योजनामा छु। र्वाधार विकासलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउने सोच छ ।

युवा र रोजगारका विषयमा प्रष्ट पार्दै भन्छन– युवालाई देशमै सम्भावना देखाउनुपर्छ । सीपमूलक तालिम, स्थानीय उद्योग प्रवद्र्धन, कृषि र स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ । सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर मोरङ–३ लाई रोजगारीको केन्द्र बनाउने योजना छ ।

मतदातालाई सन्देश दिँदै भन्छन–मैले बोलेभन्दा बढी काम गरेको छु । फेरि अवसर दिनुहोस्, अझ धेरै गर्न चाहन्छु । स्वास्थ्य, सेवा र विकासको यात्रामा तपाईंहरूसँगै हिँड्न चाहन्छु । यो चुनाव व्यक्ति होइन, मूल्य र भरोसाको चुनाव हो ।


खगेन्द्र कार्की
प्रतिक्रिया