सामान्य वर्षापछि हिलाम्मे बनेको सडकमा स्थानीयले धान रोपे

फाष्ट मिडिया नेपाल संवाददाता

दमक, झापा — वर्षायाम सुरु भएसँगै झापाको दमक नगरपालिका–९ र १० जोड्ने सडक हिलाम्मे बनेपछि स्थानीय बासिन्दाले सडकमै धान रोपेर विरोध जनाएका छन्। सडकको दुरवस्थाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उनीहरूले सांकेतिक आन्दोलनस्वरूप सडकलाई नै खेत बनाएर धान रोपेका हुन्।

स्थानीयका अनुसार सामान्य वर्षा भएको दुई दिनमै सडकभरि पानी जम्ने, खाल्डाखुल्डी पर्ने र आवतजावत गर्न कठिन हुने समस्या दोहोरिएको छ। पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नभएपछि धानको बेर्ना बोकेर सडकमा उत्रिनुपरेको उनीहरूको भनाइ छ। उनीहरूले सडकको स्तरोन्नति र कालोपत्रे गर्न माग गरेका छन्।

वर्षौंदेखि जीर्ण रहेको उक्त सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने समस्याबाट ग्रस्त छ। स्थानीयका अनुसार सडकको खराब अवस्थाले बिरामीलाई अस्पताल पुर्‍याउन, बालबालिकालाई विद्यालय पठाउन तथा किसानका उत्पादन बजारसम्म लैजानसमेत कठिनाइ भइरहेको छ।

विरोध कार्यक्रममा सहभागी किसान नगेन्द्रमणि न्यौपानेले चुनावका बेला विकासका आश्वासन दिने नेताहरू निर्वाचित भएपछि जनताका आधारभूत समस्या बिर्सने गरेको आरोप लगाए। वडा, नगरपालिका, प्रदेश र संघीय सरकारसम्म पटक–पटक पहल गर्दा पनि सडक निर्माणको काम अघि नबढेपछि वास्तविक अवस्था देखाउन सडकमै धान रोप्न बाध्य भएको उनले बताए।

स्थानीय सुरेश धिमालले वर्षा सुरु भएपछि मोटरसाइकल चलाउनसमेत समस्या हुने र विद्यालय जाने बालबालिका हिलोमा लड्ने गरेको बताए। पदम भण्डारीले बिरामी पर्दा एम्बुलेन्ससमेत गाउँसम्म पुग्न नसक्ने अवस्था रहेको उल्लेख गरे भने केदार खतिवडाले आन्दोलनलाई राज्यको उदासीनताविरुद्धको सांकेतिक विद्रोहको संज्ञा दिए।

स्थानीय बासिन्दाले सडक स्तरोन्नति र कालोपत्रेको काम तत्काल सुरु नभए नगरपालिका घेराउलगायत थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। भेषराज थापाले आन्दोलन कुनै राजनीतिक उद्देश्यका लागि नभई हिँड्न मिल्ने सडकको मागका लागि गरिएको स्पष्ट पारे।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया