उम्मेदवारी दर्तापछि ओली चौथो पटक झापा ओर्लिए

खगेन्द्र कार्की

झापा । विगतमा काठमाडौंबाट सुतेर झापामा उम्मेदवारी दर्ता गर्ने परम्परा तोड्दै केपी शर्मा ओली यो पटक आफ्नै क्षेत्रमा ‘स्थायी’ जस्तै भएका छन् । पछिल्ला राजनीतिक घटनाक्रम र नयाँ पुस्ताको चुनौतीले एमाले अध्यक्ष ओलीलाई झापामै केन्द्रित रहन बाध्य बनाएको छ ।

शनिबार चौथो पटक झापा ओर्लिएका ओलीले उम्मेदवारी दर्ता गरेपछि झापामै लगातार समय बिताइरहेका छन् । यसअघि उनी मनोनयन दर्ताका लागि मात्रै गृहजिल्ला आउने, केही दिन बसेर काठमाडौं फर्किने गर्थे । कहिलेकाहीँ त वारेसमार्फत नै मनोनयन दर्ता गर्ने प्रचलन थियो । तर यसपटक उनको कार्यतालिका पूर्ण रूपमा बदलिएको छ— काठमाडौंका अन्य क्षेत्रका चुनावी सभाभन्दा आफ्नै क्षेत्र सुरक्षित गर्नतिर ओलीको ध्यान केन्द्रित छ ।

झापाको सुरक्षा निकायका अनुसार ओली माघ ५ पछि चौथो पटक झापा आएका हुन् । पहिलोपटक माघ ५ मा झापा ओर्लिएर ९ मा फर्किएका उनी माघ २३ मा पुनः आएका थिए । त्यसपछि फागुन ३ मा आएको उनको तेस्रो यात्रा ६ गतेसम्म रह्यो । तीन पटकको भ्रमणमा उनले १६ दिन बिताइसकेका छन् । शनिबारको चौथो भ्रमणमा उनी करिब एक साता भन्दा बढी झापामै बस्ने बताइन्छ ।

राजनीतिक विश्लेषक र स्थानीय नेताहरूका अनुसार, ओलीले यति लामो समय झापामा बिताएको २०४८ सालपछिका कुनै पनि चुनावमा देखिएको थिएन । लेखक निरोज कट्टेल भन्छन्, “केपी ओलीले यति धेरै झापामा समय बिताएको झापा विद्रोह ताका मात्रै थियो । अहिले उनको झापाप्रतिको मोह असामान्य रूपमा बढेको छ।”

ओलीको मतदाता नामावली भने भक्तपुरमा छ, जसका कारण उनी आफ्नै क्षेत्रमा भोट हाल्न पाउँदैनन् । त्यसैले अघिल्ला चुनावहरूमा झापाप्रति उनको प्राथमिकता कम रहँदै आएको थियो ।

यसपटक झापा–५ मा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह उम्मेदवार बनेपछि ओली दबाबमा परेका देखिन्छन् । स्थानीय मतदाताहरूले पनि ओलीको सक्रियतालाई यसैसँग जोडेर हेरेका छन् । गौरादहका मतदाता खड्गबहादुर बराइली भन्छन्, “उहाँलाई यसपटक डर लागेको छ, त्यसैले घर–घरमा पुग्दै हुनुहुन्छ ।”

माघ २७ मा ओली गौरीगञ्ज पुगेका थिए, जहाँ स्थानीय मधेशी मतदाताले गुइँठा ९इन्धन० विषयमा उनीसँग हाकाहाकी प्रश्न गरेका थिए । त्यही दिनदेखि ओलीको प्रचारशैली ‘मैदानमै जाने’ मोडमा पुगेको एमाले कार्यकर्ताहरूको भनाइ छ ।

हाल ओलीले झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट गर्दै दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एनप्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् । उनको तालिका अनुसार, उनी आगामी केही दिन आन्तरिक भेटघाट र प्रचार–प्रसारमै व्यस्त रहनेछन् ।

संक्षेपमा

ओलीले पछिल्लो एक महिनामा चार पटक झापा भ्रमण गरेका छन्।

अघिल्ला चुनावहरूमा जस्तो काठमाडौं केन्द्रित नभई आफ्नै क्षेत्रमा सक्रिय।

बालेन्द्र शाहको उम्मेदवारीले उनीमाथि दबाब बढाएको अनुमान।

स्थानीय मतदाताले उनको सक्रियतालाई नयाँ अनुभवको रूपमा लिएका छन्।

खगेन्द्र कार्की
प्रतिक्रिया