दोस्रो विश्वकपमा सहभागी हुने कतारको तयारी कस्तो छ ? के इतिहास जोगाउँला कि बदल्ला ?

खगेन्द्र कार्की

उत्तर अमेरिकामा हुन लागेको यो विश्वकप कतारका लागि दोस्रो विश्वकप सहभागिता हो। यसअघि सन् २०२२ मा आफैले विश्वकप आयोजना गर्दा मध्यपूर्वको यो सानो देश विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको हिस्सा बनेको थियो, जहाँ टोली समूह चरणबाटै बाहिरिएको थियो।  
घरेलु मैदानमा सम्पन्न चार वर्षअघिको उक्त विश्वकपमा कतारका लागि एकमात्र गोल मोहम्मद मोन्टारीले गरेका थिए। सेनेगलसँग ३-१ ले पराजित भएको खेलमा मोन्टारीले कतारका लागि विश्वकप फुटबल इतिहासको पहिलो र अहिलेसम्मको एकमात्र गोल गरेका थिए।
समूह ‘बी’ मा रहेको कतारले समूहचरणमा सहआयोजक क्यानाडा, स्विट्जरल्याण्ड, कतार र बोस्निया हर्जगोभिनासँग परेको छ। बोस्निया हर्जगोभिना त्यही टोली हो, जसले विश्वकप स्थानका लागि भएको युरोपियन प्लेअफमा चार पटकको च्याम्पियन इटालीलाई हराएको थियो। 
फिफा विश्व वरियताको ५६औँ स्थानमा रहेको कतारलाई विश्वकपमा स्पेनिस प्रशिक्षक जुलेन लोप्तेगीले नेतृत्व गर्नेछन्। पूर्व गोलकिपर लोप्तेगीले वेस्ट ह्याममा ६ महिने जागिर खाएपछि कतारी टीममा जिम्मेवारी लिएका थिए। पछिल्लो दुई दशकदेखि निक्कै ठूलो महत्वाकांक्षाका साथ फुटबलमा लगानी गर्दै आएको कतारले चार वर्षअघि भव्य विश्वकप आयोजना गरिसकेको छ। अब भने कतारले आफ्नो राष्ट्रिय टीमलाई विश्वस्तरको बनाउने र घरेलु लिगलाई पनि बलियो पार्ने महत्वाकांक्षा बोकेको छ। यही कारण हो कतारी राष्ट्रिय टीमका सबैजसो खेलाडी देशमै व्यावसायिक फुटबल खेल्छन्। 
कप्तान हसन अल हेडोजले सन् २०२४ मा अन्तर्राष्ट्रिय फुटबल संन्यास लिए पनि विश्वकप अभियानका लागि फेरि पुनरागमन जनाएका छन्। १८४ अन्तर्राष्ट्रिय खेलमा उनले कतारका लागि ४१ गोल गरेका छन्। स्ट्राइकर अल्मोइज अली कतारी टीमका अहिले सबभन्दा प्रभावशाली स्कोरर हुन्। उनले ११८ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरेका छन्। 
टिम कतार
गोलकिपर : सालाह जाकारिया (अल दुहाइल), मोहमौद अबुनादा (अल रायान), मेशाल बर्शाम (अल साद)
रक्षक : हासमी हुसेन (अल अरबी), अयुब अलावी (अल घाराफा), बुवालेम खोउखी (अल साद), पेड्रो मिगुअल (अल साद), इसा लाये (अल अरबी), लुकास मेन्डेज (अल वाख्र), सुल्तान अल ब्राके (अल धुहाइल), होमाम अल अमिन (कल्चरल लियोनेसा)
मिड फिल्डर : मोहम्मद अल मानाइ (अल शामल), जसिम जाबेर (अल अरबी), करिम बौडियाफ (अल धुहाइल), अहमद फाथी (अल अरबी), अब्दुलाहिज हाटेम (अल रायान), असिम माडिबो (अल वाख्र)
फरवार्ड : थासिन मोहम्मद (अल दुहाइल), इडमिल्सन जुनियर (अल दुहाइल), अल्मोइज अली (अल दुहाइल), अक्रम अफिफ (अल साद), मोहम्मद मुन्टारी (अल घाराफा), युसुफ अब्दुल्लरजाक (अल वाख्रा), अहमद अला (अल रायन), हसन अल हेडोज (अल साद), अहमद अल जनही (अल घाराफा)
प्रशिक्षक : जुलियन लोप्तेगी

thahakhbar

खगेन्द्र कार्की
प्रतिक्रिया