इटहरी । कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममा करिब आधा जनसंख्या आबद्ध भएको छ भने सेवा लिने संख्या पनि ठिकै खालको देखिन्छ। स्वास्थ्य बीमा कार्यालयका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले बुधबार विराटनगरमा आयोजित १०औँ स्थापना दिवस कार्यक्रममा जानकारी दिए अनुसार कुल बीमित परिवार पाँच लाख ५७ हजार ७१२ पुगेका छन्, जसले ४९ प्रतिशत आबद्धता देखाउँछ । कुल बीमितमध्ये सेवा लिने संख्या १९ लाख २५ हजार १९७ जना रहेको छ भने नवीकरण दर ७३ दशमलव प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०८१÷८२ सम्ममा बीमितबाट करिब चार अर्ब ९९ करोड रुपैयाँ संकलन भएको छ भने सेवा प्रदायक संस्थालाई १२ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ। प्रदेशमा ९३ सरकारी, पाँच सामुदायिक र २१ निजी सेवा प्रदायक गरी जम्मा ११९ संस्था सूचीकृत छन् । बीमा दर्ता सहयोगीका रूपमा एक हजार २६६ जना रहेका छन् र प्रदेशभर १४ जिल्लामा कार्यक्रम विस्तार गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले बीमाले आम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच दिएको बताए। उनका अनुसार स्वास्थ्य बीमा केवल उपचार मात्र नभई सामाजिक सुरक्षा र आर्थिक संरक्षणको काम पनि गर्छ। मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले प्रदेश सरकारले पनि यसमा सहयोग गर्नुपर्ने सुझाव दिए भने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले सबै नागरिकलाई आबद्ध गराउन जनचेतना बढाउनुपर्ने धारणा राखे ।
स्थानीय सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूले नागरिकलाई उपचारमा कुनै भेदभाव नगर्ने र समयमै बीमाको रकम भुक्तानी हुने सुनिश्चितता भएको दाबी गरे। स्वास्थ्य बीमाले नागरिकको आर्थिक जोखिम घटाउने काम गरेको भए पनि अझ धेरै जनतालाई आबद्ध गराउने र सेवाको पहुँच सुधार गर्ने चुनौती अझै बाँकी रहेको देखिन्छ। कार्यक्रममा सहभागी सबैले स्वास्थ्य बीमाको सामाजिक र आर्थिक महत्वलाई औँल्याउँदै यसलाई अझ प्रभावकारी बनाउने दिशामा ध्यान दिनुपर्ने जोड दिएका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो