‘दिव्य उपदेश’ भनेको राजा पृथ्वीनारायण शाहले आफ्ना उत्तराधिकारी, दरबारी, र जनताका लागि दिएका नीतिगत, सामाजिक, आर्थिक, धार्मिक र सुरक्षा सम्बन्धी विचारहरू हुन् ।
यी उपदेशहरू उहाँको मृत्युको केही समयअघि उहाँका नजिकका विश्वासिला दरबारियाहरूले लेखी सङ्कलन गरेका थिए । मुख्य विचारहरू र सन्देशहरू–
१. राष्ट्रको स्वाधीनता र एकता
नेपाललाई “चार जात छत्तीस वर्णको फूलबारी” भनिएको छ — जसले विविधता भित्र एकता र सहअस्तित्वको सन्देश दिन्छ ।
विदेशी हस्तक्षेपबाट देशको रक्षा गर्न सबै एकजुट हुनुपर्छ भन्ने जोड दिइएको छ।
२. परराष्ट्र नीति
पृथ्वीनारायण शाहले नेपाललाई “दुई ढुङ्गाबीचको तरुल” (भारत र चीन बीचको कमजोर देश) भनेका थिए ।
त्यसैले सन्तुलित परराष्ट्र नीति अपनाउन, दुवै मुलुकसँग मैत्री सम्बन्ध राख्न, तर देशको स्वाभिमान जोगाउन निर्देशन दिएका छन् ।
३. अर्थनीति र आत्मनिर्भरता
“विदेशी वस्तु आयात नगर्नु, आफ्नै उत्पादन प्रयोग गर्नुपर्छ” भन्ने सन्देश दिएका छन् ।
आर्थिक आत्मनिर्भरता नै स्वतन्त्रताको आधार हो भन्ने कुरा औंल्याइएको छ ।
४. न्याय र शासन प्रणाली
शासकले प्रजाप्रेमी, इमानदार र न्यायकारी हुनुपर्छ ।
भ्रष्टाचार, लोभ र अन्यायबाट टाढा रहन चेतावनी दिएका छन्।
५. धर्म, संस्कृति र राष्ट्रिय भावना
हिन्दू धर्म र संस्कृतिलाई संरक्षण गर्दै सबै धर्म र जातप्रति सहिष्णु हुन निर्देशन दिएका छन्। देश, धर्म र संस्कृति एकअर्काको पूरक हुन् भन्ने विचार व्यक्त गरिएको छ ।
‘दिव्य उपदेश’को महत्व
नेपालको पहिलो राजनीतिक दर्शनका रूपमा स्वीकार ।
आज पनि नेपालका परराष्ट्र नीति, राष्ट्रिय एकता र स्वाधीनताका लागि मार्गदर्शक दस्तावेज । यो उपदेशले पृथ्वीनारायण शाहलाई केवल एक विजेता होइन, एक दार्शनिक राष्ट्रनिर्माताका रूपमा प्रस्तुत गर्छ ।
संक्षेपमा भन्नुपर्दा–
‘दिव्य उपदेश’ केवल अतीतको दस्तावेज होइन, यो नेपालको अस्तित्व र पहिचानको दर्पण हो ।
राष्ट्रिय एकताको जब कुरा उठ्छ, तब स्वतः स्मरण हुन्छ–नेपालका महान एकीकरणकर्ता पृथ्वीनारायण शाहको । उनी केवल गोरखाका राजा मात्र होइनन्, सम्पूर्ण नेपालीको साझा पहिचानका मूर्त प्रतीक हुन् । उनले त्यस्तो समयमा देश एकीकरण गरे जब बाइसे–चौबिसे राज्य र तीन मल्ल राज्यबीच निरन्तर आपसी द्वन्द्व चलिरहेको थियो । आज हामी गर्वका साथ “हामी नेपाली हौं” भन्न सक्ने भइसकेका छौं भने त्यसको आधारशिला पृथ्वीनारायण शाहकै दूरदर्शी नेतृत्व हो ।
चाहे नेपाल भूमि एकिकरणको सन्दर्भ होस वा राज्य सञ्चालनका सन्दर्भ अनेकन सन्दर्भहरु अहिले उत्तिकै सन्दर्भिक, अविष्मरणीय र अनुकरणीय छन् । राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाह कै कारणले आज हामी नेपाली हौ भनेर ठाडो शिरले विश्व पहिचान पनि बनाएका छौं । त्यो बेलामा नेपाल एकिकरण नगरिदिएको भए अहिले हामी माझ नेपालीको पहिचान पक्कै बन्ने थिएन । यो ऐतिहासिक तथ्यलाई पछिल्ला समयमा उम्रिएका अवसरवादीधारका राजनीति पाखण्डीहरुले मेटाउने प्रयत्न पनि नगरेका होइनन् । शाहवंशीय शासनकालमा सबैको योगदान नहोला तर केही तत्कालिन राजाहरुको नेपाल र नेपालीप्रति अमिट छाप छोडेर गएका छन त्यो दिन, त्यो समर्पण, त्यो त्याग, त्यो बलिदान र त्यो योगदानलाई भुल्ने प्रयत्न ग¥र्यौ भने नेपाली आमाको छातीमा बुट बजारको अनुभूति जोकोहीलाई हुनुपर्दछ ।
उनले नेपाली समाजलाई मिलाएर लैजान, एक आपसमा भाइचारा, सहअस्तित्व कायम गर्न र समाजलाई अनुशासित बनाउन आफ्नो दिव्य उपदेश मा भनेका छन्–
“नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो ।”
यो भनाइले स्पष्ट देखाउँछ, उनी जातीय वैमनस्य होइन, सहअस्तित्व र एकताको पक्षधर थिए। उनी प्रत्येक जात, धर्म र समुदायलाई समान सम्मानको दृष्टिले हेर्ने राजनेता थिए । यही कारण, उनले एकीकरणलाई केवल भौगोलिक विस्तार होइन, सामाजिक र सांस्कृतिक एकताको अभियान बनाए ।
अठारौँ शताब्दीको राजनीतिक अस्थिरतामा जब उपत्यकाका मल्ल राजाहरू आपसमा लडिरहेका थिए, त्यही अवसरमा उनले देश एक बनाउने संकल्प गरे । त्यो कार्य सहज थिएन । अंग्रेज साम्राज्यले पनि गोरखामा आक्रमण गरेको थियो, तर पृथ्वीनारायण शाहको चातुर्य र रणनीतिक सोचका अगाडि तिनको कुनै उपाय लागेन । यही विजयबाट सुरु भयो नेपालको ऐतिहासिक एकीकरणको यात्रा ।
उनले भनेका छन् –
“राज्य अविभाज्य रहोस्, अंश नलागोस् ।”
यो नीतिले नै नेपाललाई टुक्रिनबाट जोगायो । मल्लकालमा जस्तै भाइ–भाइबीच राज्य बाँडिने प्रथा रोक्दै उनले दीर्घकालीन राष्ट्रिय एकताको जग बसाए । यही कारण अढाई शताब्दीपछि पनि नेपालको भौगोलिक अखण्डता कायम छ ।
त्यो समयको भूगोल र शक्ति सन्तुलन बुझ्न उनले दिएको अर्को उदाहरण अझै पनि सान्दर्भिक छ । उनले भनेका थिए –
“नेपाल दुई ढुंगाबीचको तरुल हो ।”
चीन र भारत –त्यतिबेला अंग्रेज भारत) जस्ता शक्तिशाली राष्ट्रबीचको सानो मुलुक नेपाललाई कसरी सन्तुलनमा राख्ने भन्ने नीति यो वाक्यमा निहित छ । यो भनाइले नेपालको भू–राजनीतिक स्थिति र त्यसप्रति अपनाउनुपर्ने कूटनीतिक नीति दुवै प्रष्ट पार्छ। आज पनि यो उपदेश नेपालको परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्त हुनसक्छ ।
पृथ्वीनारायण शाह न केवल एक योद्धा, तर कुशल प्रशासक, अर्थनीति निर्माता र नैतिक मूल्यका पक्षधर थिए । उनले स्पष्ट भनेका थिए –
“घूस लिन्या र दिन्या राज्यका शत्रु हुन्, यिनको जीउज्यान लिया पनि पाप लाग्दैन ।”
यो वचन सुन्दा लाग्छ, उनी भ्रष्टाचारविरुद्धको लडाइँमा सायद विश्वकै पहिलो आवाज थिए । आजको समयमा पनि यो उपदेश उत्तिकै सान्दर्भिक छ ।
उनी निर्णयमा जनताको चाहना सुन्ने प्रजातान्त्रिक सोचका थिए । जब काजी नियुक्त गर्नुपर्ने बेला आयो, उनले मनपर्ने मान्छे होइन, जनताले रोजेको व्यक्ति कालु पाण्डेलाई नियुक्त गरे । यसबाट देखिन्छ, उनी जनइच्छालाई सर्वोपरि मान्थे–विश्वमा प्रजातन्त्रको अभ्यास सुरु हुनुभन्दा धेरै अघि नै ।
नेपाललाई उनले केवल भूगोलको रूपमा होइन, साझा संस्कृतिको बगैँचा माने। उनले भने –
“यो मुलुक मेरा साना दुःखले आज्र्याको होइन ।”
त्यो वाक्यले उनको आत्मसम्मान र देशप्रतिको गहिरो समर्पण झल्काउँछ । उनी व्यक्तिगत लाभका लागि होइन, राष्ट्रको दीर्घ भलाईका लागि लडे ।
आजको सन्दर्भमा जब संघीयता, जातीय विभाजन र बाह्य प्रभावका कुरा उठ्छन्, तब पृथ्वीनारायण शाहको एकीकरणको आत्मा फेरि सम्झनु आवश्यक छ । उनी सिंगो नेपाललाई एक सूत्रमा बाँध्न चाहन्थे, त्यसैले उनले एकीकरण गरे । जात, धर्म वा भूगोलका आधारमा देश टुक्रिनु उनको सपना होइन, उनी त सबैलाई एउटै नेपाली पहिचानमा जोड्न चाहन्थे ।
भारतमा गान्धी, चीनमा माओ र अमेरिकामा लिंकन जस्तै, नेपालमा श्रद्धाका पात्र थिए– पृथ्वीनारायण शाह । उनको तस्वीर हरेक नेपालीको घरमा, उनका उपदेश हरेक नेताको नीतिमा र उनका आदर्श हरेक नागरिकको आचरणमा बस्न जरुरी छ ।
त्यसैले आज पनि, जब हामी “राष्ट्रिय एकता” भन्ने शब्द उच्चारण गर्छौं, त्यो केवल नारामात्र होइन – त्यो पृथ्वीनारायण शाहकै सन्देश हो । उनी नेपालको माटो, आत्मा र पहिचान हुन् । उनको योगदानलाई सम्झनु भनेको नेपाली आमालाई सम्झनु हो, र उनलाई बिर्सनु भनेको नेपालप्रति अपराध गर्नु हो । ááá
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो