इटहरी । पश्चिम एशियामा जारी द्वन्द्वको प्रभाव नेपाली निर्माण क्षेत्रमा पनि देखिन थालेको छ । खास गरि सडक कालोपत्र गर्न आवश्यक पर्ने पेट्रोलियम वस्तु अलकत्रा (बुटुमिन) आयातमा अवरोध हुँदा यसको प्रभाव सडक निर्माण र विस्तारमा देखिएको हो ।
अलकत्रा आयातमा अवरोध देखिएका कारण सडक निर्माण कार्य प्रभावित हुन थालेको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता श्यामबहादुर खड्काले बिटुमिनको आयातमा आएको कमी र बढ्दो मूल्यका कारण देशभरका सडक आयोजनाहरूको काम प्रभावित भएको बताए । सडकको बेस तयार भएर कालोपत्रे गर्ने मुख्य सिजन भए पनि अलकत्रा सहज उपलब्ध नहुँदा आयोजनाहरू अलपत्र पर्ने जोखिम बढेको उनले जनाएका छन् । बजारमा भाउ बढेको र उपलब्धता पनि सहज नभएकाले काम अघि बढाउन समस्या भएको हो ।
यस्तै नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, हुलाकी राजमार्गलगायत हाल निर्माणाधीन महत्वपूर्ण सडकमा बिटुमिनको अभावका कारण काम प्रभावित भएको छ । हप्तामा एक–दुई पटकमात्र बिटुमिन पाउने अवस्था रहेका कारण समयमै काम सम्पन्न गर्न कठिन भएको छ । बिटुमिनको अभावले पारेको प्रभावबारे विभागले थप जानकारी लिने र समस्या बुझ्ने काम गरिरहेको पनि प्रवक्ता खड्काले बताए । हिउँदको समयमा सडक निर्माणले गति लिनुपर्ने भए पनि आवश्यक सामग्रीको अभावले काम पछाडि धकेलिने देखिएको छ ।
सडक डिभिजनले काठमाडौँका सडकलाई खाल्डाखुल्डीरहित बनाउने अभियानलाई निरन्तरता दिइरहेको छ । सडकमा देखिने समस्या तत्काल समाधान गर्न सञ्चालनमा ल्याइएको सडक एम्बुलेन्स सेवाले पनि प्रभावकारी रूपमा काम गरिरहेको र खाल्डाखुल्डी पुर्ने, सडक मर्मत
तथा स्तरोन्नतिका काम भइरहेको डिभिजन कार्यालयका प्रमुख सुवोधकुमार देवकोटाले बताए । यस्तै डिभिजन अन्तर्गतका सडक विस्तारको काम पनि तीव्रता दिइरहेको तर पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित भएका कारण सडक मर्मत, स्तरोन्नति तथा कालोपत्रका काममा सुस्तता आएको उनको भनाइ छ । निर्माण सामग्रीको आपूर्तिमा अवरोध सिर्जना भएपछि निर्माणाधीन नागढुंगा(मुग्लिन सडक विस्तार आयोजना पनि प्रभावित भएको छ । विशेषगरी कालोपत्रेका लागि आवश्यक पर्ने बिटुमिन (अलकत्रा)को आपूर्ति सहज नहुँदा आयोजनाको काम रोकिने अवस्थामा पुगेको छ । नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड)का प्रमुख केशवप्रसाद ओझाका अनुसार वैदेशिक बजारबाट बिटुमिनको आपूर्ति अवरुद्ध हुँदा कालोपत्रेको काम प्रत्यक्ष प्रभावित भएको हो । आयोजनाका दुई खण्डमा दैनिक दुई ट्यांकर बिटुमिन आवश्यक पर्ने भए पनि हाल हप्तामा एक–दुई ट्याङ्करमात्र उपलब्ध भइरहेको छ ।
हुलाकी राजमार्गमा प्रगती
हुलाकी राजमार्ग आयोजनाको भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । आयोजना निर्देशनालयका प्रमुख कुवेर नेपालीले राजमार्ग निर्माणको कामले गति लिएको र आयोजनामा देखिएका मुख्य समस्यालाई फुकाउने काम भइरहेको बताए । केही ठाउँमा काम अड्किएकाले अहिले ती क्षेत्रमा प्राविधिक टोलीले विशेष ध्यान दिएर काम गरिरहेको उनको भनाइ छ ।
राजमार्गको काम हालसम्म सन्तोषजनक रूपमा अघि बढे पनि पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव आयोजनामा पर्न सक्ने देखिएको छ । प्रमुख नेपालीले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले निर्माण सामग्रीको आपूर्तिमा समस्या आउन सक्ने बताए । डिजेल र बिटुमिन धेरै समयका लागि भण्डारण
(स्टक) गर्न नसकिने र प्रतिलिटर मूल्य पनि धेरै बढेकाले काममा चुनौती थपिएको नेपालीले बताए । हाललाई भने पहिले नै मौज्दात रहेको सामग्रीहरूबाट निर्माण कार्यलाई निरन्तरता दिइएको उनको भनाइ छ । नयाँ सामान आयात नभएको र बजारमा मूल्यसमेत बढेकाले आगामी दिनमा निर्माणको गति प्रभावित हुन सक्ने उनले जानकारी दिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो