डाक्टरदेखि सामान्यसम्मको भिडन्त हुँदै मोरङ क्षेत्र नं. ३

खगेन्द्र कार्की

मोरङ । मोरङ–३ आगामी प्रतिनिधि सभा निर्वाचनमा बौद्धिक र शिक्षित उम्मेदवारहरूको प्रतिष्पर्धाका कारण देशभर चर्चाको केन्द्र बनेको छ। यो क्षेत्रमा १८ जना उम्मेदवारबीचको प्रतिस्पर्धा “डिग्रीको लडाइँ” जस्तो देखिएको छ, जहाँ पीएचडीदेखि एमबीबीएस र स्नातक तहसम्मका उम्मेदवारहरू एकैसाथ मैदानमा छन्।

सबैभन्दा शैक्षिक दृष्टिले ‘हाइ–प्रोफाइल’ उम्मेदवारका रूपमा नेपाल कम्युनिष्ट पार्टीका ५८ वर्षीय डा. देउमान सम्वाहाम्फे रहेका छन्, जसले विद्यावारिधि ९एजम्० गरेका छन्। उनलाई कडा चुनौती दिइरहेका छन् नेपाली कांग्रेसका ४८ वर्षीय डा. सुनिलकुमार शर्मा, जो एमबीबीएस चिकित्सक र नोबेल मेडिकल कलेजका सञ्चालक हुन्। यी दुईबीचको प्रतिस्पर्धा बौद्धिक बहस र व्यावसायिक छविको आधारमा केन्द्रित देखिन्छ।

त्यस्तै, स्नातकोत्तर (मास्टर्स) तह उत्तीर्ण उम्मेदवारहरूको संख्या पनि उल्लेख्य छ। एमालेका इरानकुमार राई (एमए, बीएड), रास्वपाका गणेश कार्की, राष्ट्रिय ऊर्जाशील पार्टीका भुवनकुमार वाग्ले र संयुक्त नागरिक पार्टीका विदुर अधिकारी सबै मास्टर्स तहका उम्मेदवार हुन्।

स्नातक तह (ब्याचलर) सम्म अध्ययन पूरा गरेका उम्मेदवारमा जय मातृभूमि पार्टीका नवराज मास्के र श्रम संस्कृति पार्टीका अमिर मगर छन्। ३६ वर्षीय अमिर मगर यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन्।

त्यसैगरी, सामान्य साक्षरदेखि माध्यमिक तहसम्म अध्ययन गरेका उम्मेदवार पनि उत्तिकै सक्रिय छन्। नेपाल मजदुर किसान पार्टीका परशुराम विश्वास थारू साधारण साक्षर हुन्। राप्रपाका प्रेमप्रसाद सुवेदी (आईए), उज्यालो नेपाल पार्टीका मित्रसेन योञ्जन (आईकम), माओवादी केन्द्रका खड्गबहादुर कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिल्लीबहादुर जवेगु, स्वतन्त्र उम्मेदवार गणेश मिश्र र तेजप्रसाद भण्डारी, साथै मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई (१२ कक्षा) पनि प्रतिस्पर्धामा छन्। जसपाका मजेबुल रहमान र आम जनता पार्टीका कमलकुमार राईले पनि उम्मेदवारी दिएका छन्।

कुल १ लाख ५८ हजार ५७ मतदाता रहेको यस क्षेत्रमा महिला मतदाता पुरुषभन्दा करिब ३ हजार ७ सय बढी छन् — पुरुष ७७ हजार १ सय ७० र महिला ८० हजार ८ सय ८३। विश्लेषकहरूका अनुसार, यही महिला मतदाता समूह आगामी नतिजाको निर्णायक शक्ति बन्न सक्छ।

मोरङ–३ मा कानेपोखरीका ४, पथरी शनिश्चरेका ८, बेलवारीका ८ र सुन्दरहरैँचाका ६ वडा समेटिएका छन्। यहाँ ५५ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएका छन्।

विद्वान् डाक्टरदेखि सामान्य साक्षरसम्म एउटै चुनावी मैदानमा उत्रिएको दृश्य मोरङ–३ लाई विशिष्ट बनाएको छ। अब मतदाताले कसको डिग्रीभन्दा पनि कसको दृष्टिकोण र एजेन्डा रोज्छन् भन्ने निर्णय मतपेटिकाबाट निस्कनेछ।

खगेन्द्र कार्की
प्रतिक्रिया