टी–२० विश्वकप २०२६: भारत र श्रीलंका सुपर एटमा, बलियो प्रदर्शन जारी
खगेन्द्र कार्की
५ फाल्गुण २०८२, मङ्गलबार ०१:१० मा प्रकाशित
1006
काठमाडौं – भारत र श्रीलंकामा जारी टी–२० विश्वकप २०२६ का आधा खेल सकिँदै प्रतियोगिताको स्वरूप स्पष्ट बन्दै गएको छ। गएराति अष्ट्रेलियामाथि प्रभावशाली जित निकाल्दै आयोजक श्रीलंका सुपर एटमा प्रवेश गरेको छ भने भारतले पनि यसअघि नै स्थान सुरक्षित गरिसकेको छ। यी दुई आयोजकसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले पनि सुपर एटमा टिकट काटेका छन्।
भारतले कोलम्बोमा पाकिस्तानविरुद्ध ६१ रनको जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ। कप्तान सूर्यकुमार यादव, हार्दिक पाण्ड्या र इशान किशनको उत्कृष्ट प्रदर्शनले टोलीलाई लगातार तीन जित दिलाएको छ। श्रीलंकाले पनि घरेलु मैदानमा झन् सशक्त प्रदर्शन गर्दै अष्ट्रेलियालाई आठ विकेटले हराउँदै सुपर एटमा स्थान बनाएको हो। ओपनर पथुम निसान्काको अविजित शतक निर्णायक रह्यो।
वेस्ट इन्डिजले स्कटल्याण्ड, नेपाल र इंग्ल्यान्डलाई हराउँदै बलियो ब्याटिङ र तीव्र बलिङको प्रदर्शनमार्फत सुपर एटमा स्थान बनाएको छ। प्रशिक्षक डारेन सामीले पुनः उपाधि जित्ने लक्ष्यसहित टोलीलाई सशक्त रूपमा अघि बढाइरहेका छन्।
दक्षिण अफ्रिकाले पनि अपराजित यात्रा कायम राख्दै न्यूजिल्यान्डविरुद्ध सात विकेटको जित निकाल्यो। कप्तान एडेन मार्करमको शानदार ८६ रन र बलर लुंगी एनगिडीको प्रदर्शनले टोलीलाई स्थायित्व दिएको छ।
इंग्ल्यान्डले भने मिश्रित प्रदर्शनका बीच इटालीविरुद्ध कठिन जित निकाल्दै सुपर एटमा प्रवेश गरेको छ। साम करन र विल ज्याक्सको उत्कृष्ट अलराउन्ड प्रदर्शनले टोलीलाई आवश्यक जित दिलाएको हो।
अब सुपर एट चरणमा यी पाँच टोलीसँगै बाँकी तीन स्थानका लागि प्रतिस्पर्धा तीव्र बनेको छ।