सरकारको निर्णय : शैक्षिक क्यालेण्डर
इटहरी । सरकारले गरेका पछिल्ला दुई निर्णयले शिक्षा क्षेत्र प्रभावित हुने देखिएको छ । सातामा दुई दिन विदा दिने र शैक्षिक शत्र वैशाख १५ देखि मात्र शुरु गर्ने निर्णयले पाठ्यभार पूरा गर्न दवाव पर्ने देखिएको छ । विद्यालय तथा शिक्षकहरुले चालु शैक्षिक शत्र अनुसारनै पाठ्यक्रम र पाठ्य योजना बनाएकाले त्यसलाई परिमार्जन गर्नु पर्ने देखिएको शिक्षकहरुले बताएका छन् ।
विश्व बजारमा बढेको ईन्धन संकटले नेपाली बजारमा समेत पारेको समस्यासँग जुध्न सरकारले केहि दिन अघि यो निर्णय गरेको थियो । तर यो नियम नियमित लागु गर्ने कि अल्पकालका लागि हो भन्नेमा अझै अन्योल छ । यदि नियमित रुपमा सातामा दुई दिन विदा हुने हो भने पाठ्यक्रम परिमार्जन देखि अन्यविदा कटौती, अतिरिक्त क्रियाकलाप घटाउने जस्ता कार्यहरु गर्नु पर्ने देखिएको शिक्षकहरुले बताएका छन् । दमक स्थित हिमालय माविका प्रधानाध्यापक द्रोर्णबहादुर श्रेष्ठ शैक्षिक शत्र वैशाख १५ देखि शुरु र सातामा दुई दिन विदा लागु गर्दा पाठ्यभार पूरा गर्न कठिन हुने जनाएका छन् । उनले भने, ‘यता शैक्षिक शत्र पनि ढिला शुरु हुने भयो, सातामा दुई दिन नियमित विदा पनि हुने भयो भने त कोर्ष परिमार्जन गर्नु पर्ने देखिन्छ । एक दिन विदा हुँदा त कतिपय कोर्ष पूरा गर्न कठिन हुन्छ अब दुई दिन विदा हुँदा त कसरी पूरा गर्ने ?’ कुनै पनि अतिरिक्त क्रियाकलाप नगर्ने र अन्य विदामा पनि विद्यालय लगाएर आईतरबारको विदा उपयोग गर्ने हो भने विद्यार्थीहरुमा पनि चाप बढ्ने उनको भनाई छ ।
उनको जस्तै धारणा छ, दमक स्थित सिंहदेवी माविका प्रधानाध्यापक सोमनाथ बरालको । नियमित हुने गरेका सार्वजनिक विदा, पर्व विदा, हिउँदे–वर्षे विदा, अतिरिक्त क्रियाकलाप सवै कटाउँदा पनि पाठ्यक्रम पूरा गर्न कठिन हुने उनको भनाई छ । यसले शिक्षकलाई मात्र नभई विद्यार्थीलाई भार थपिने उनले बताएका छन् । उनले भने, ‘अतिरिक्त क्रियाकलाप पनि आवश्यकनै हो गर्नै प¥यो, अन्य नियमित विदा पनि हुन्छन्, प्रत्येक साता १ दिन थप विदा भए पछि त गाह्रो पो देखिन्छ त ।’
यस्तै प्याव्सन कोशी प्रदेश सल्लाहकार एलडी राईले पनि विद्यालयले साविक अनुसारनै पाठ्य योजना बनाएकाले परिमार्जन गर्नु पर्ने देखिएको बताएका छन् । ‘हुन त यो नियम वर्ष भरिनै लागु गर्ने कि अल्पकाल हो तर वर्ष भरिनै लागु गर्ने हो भने त सरकारले थप केहि भन्नु पर्ने देखिन्छ’ उनले भने, ‘कि त कोर्षभारनै केहि कम गर्नु पर्ने हुन्छ, अन्य विदाहरु सवै कटौती पनि गर्न गाह्रो पर्ला । केहि न केहि विकल्प त खोज्नु पर्ने देखिएको छ ।’ लामो समय शैक्षिक क्षेत्रमा अनुभव लिएकाहरुले पनि साताको दुई दिन विदा र शैक्षिक शत्र धकेलिए पछि शैक्षिक क्यालेन्डरमा प्रभाव पर्ने बताएका छन् । लामो समय श्रोत व्यक्ति र ढुकुरपानी माविको प्रधानाध्यापक भएका कृष्णप्रसाद भण्डारी वर्ष भरि आईतबार समेत विदा दिने हो भने पाठ्यक्रमका केहि अंश घटाउनु पर्ने स्थिति बनेको बताउँछन् । अतिरिक्त कृयाकलाप कुनै नगर्ने कुरा पनि विद्यार्थीका लागि घातक हुने भन्दै भन्दै बाँकि सवै विदा, विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप कटौती जस्ता कुरालाई मात्र विकल्प मान्न नहुने उनको भनाई छ ।
सातामा दुई दिन विदाको व्यवस्थाले शैक्षिक क्षेत्रमा भने सहजता भन्दा असहजता बढि ल्याउने उनीहरुको भनाई छ । पेट्रोलियम पदार्थमा देखिएको समस्याका कारण केहि समयका लागि मात्रै यो व्यवस्था हो भने आतिन नपर्ने तर वर्ष भरिनै यहि नियम लगाउने हो भने केहि न केहि विकल्प खोजिनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।
त्रिविले दियो निर्देशन (बक्स)
त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली र वार्षिक परीक्षालाई असर नपर्ने गरी पठनपाठनको तालिका बनाउन आंगिक क्याम्पस र कलेजलाई निर्देशन दिएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्रिविले आंगिक क्याम्पस र विभागहरूलाई सेमेस्टर र वार्षिक परीक्षा प्रणालीअन्तर्गतका कक्षाको तोकिएको ‘क्रेडिट आवर’ नघट्ने गरी समय तालिका बनाउन भनेको हो । त्रिवि कार्यकारी परिषदले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दैनिक सात घण्टा र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म दैनिक आठ घण्टा नघट्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको छ ।
कार्यकारी परिषद्ले आंगिक क्याम्पस र कलेजहरू, विभागहरू र अस्पतालबाहेक अन्य कार्यालय तथा निकायको हकमा कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म हुने निर्णय गरेको छ । यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म कायम गर्ने निर्णय गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो