झापा । आगामी संघीय निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ मा नयाँ र पुरानोबीचको प्रतिस्पर्धामा थप सरगर्मीको मसला बा कि बालेन भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच मुख्य टक्कर हुने अनुमान धेरैको छ । स्थानीयले समेत यो क्षेत्रलाई अब “बा र बालेनबीचको युद्धभूमि“ का रूपमा हेर्न थालेका छन् ।
झापाको गौरादहदेखि गौरीगन्जसम्म चुनावी चर्चा तीव्र बनेको छ। ठेकीटोली बजारका चिया पसलदेखि गाउँघरसम्म अहिले “पुरानो राजनीतिले जित्ने कि नयाँले?“ भन्ने बहस छ । स्थानीय व्यापारी खेमनाथ दाहालका अनुसार, “अघिल्ला चुनावमा कांग्रेस र एमालेको कुरा हुन्थ्यो, अहिले नयाँ र पुरानोको कुरा छ ।”
मुख्य प्रतिस्पर्धा ओली र बालेनबीच
एमालेले झापा–५ बाट अध्यक्ष ओलीलाई उम्मेदवार बनाएको छ । उनले २०७० सालदेखि लगातार यो क्षेत्रमा विजय हासिल गर्दै आएका छन् । यसपटक कांग्रेसले मन्दरा पौडेललाई, रास्वपाले बालेन्द्र शाहलाई, नेकपाले रञ्जित तामाङलाई र श्रम संस्कृति पार्टीले समीर तामाङलाई उम्मेदवार बनाएको छ । तर, अधिकांश मतदाता बालेन र ओलीबीच नै मुख्य प्रतिस्पर्धा हुने मानिरहेका छन् ।
गौरादह क्याम्पसका पूर्वप्रमुख गोपाल काफ्ले भन्छन्, “यो पटकको चुनाव फरक छ । यसअघि जातीय र सामाजिक प्रभाव बलियो थियो, अहिले पुस्तान्तरण र नयाँ सोचको प्रतिस्पर्धा छ ।” उनका अनुसार, घोषणापत्रभन्दा पनि मतदाताले “नयाँ विरुद्ध पुरानो“ का रूपमा चुनाव हेरिरहेका छन् ।
मतदाता संरचना र तथ्याङ्क
झापा–५ मा ५९ हजार ३६४ घरधुरी छन्। तीमध्ये ५९.७ प्रतिशत एकल र ४०.३ प्रतिशत संयुक्त परिवार हुन्। पुरुष घरमूलीको प्रतिशत ६१.३ र महिलाको ३८.७ छ। कुल जनसंख्या २ लाख ३७ हजार ९८२ मध्ये महिलाको संख्या पुरुषभन्दा बढी (१ लाख २५ हजार ३० महिला, १ लाख १२ हजार ९५२ पुरुष) छ ।
मतदानका लागि १ लाख ६३ हजार ३७९ जनाले नाम दर्ता गराएका छन्, जुन अघिल्लो निर्वाचनभन्दा करिब नौ हजार बढी हो । १६ देखि ४० वर्ष उमेर समूहका मतदाता ४०.८ प्रतिशत छन् । यही युवा वर्गलाई लक्षित गरेर बालेनले आफ्नो प्रचार केन्द्रित गरेको छ भने ओलीले अनुभवी नेतृत्वको पक्षमा जनमत सँगाल्ने रणनीति लिएका छन् ।
आर्थिक र सामाजिक बनोट
जनगणना २०७८ अनुसार झापा–५ मा ३२.३ प्रतिशत परिवार अति उच्च वर्गका छन्। उच्च वर्ग ३०.९, मध्यम वर्ग १८, न्यून वर्ग ११.१ र अति न्यून वर्ग ७.८ प्रतिशत छन्। जनसंख्याको हिसाबले पनि ३४.३ प्रतिशत अति उच्च वर्गका मानिस छन्, जसले यो क्षेत्रलाई अपेक्षाकृत सम्पन्न निर्वाचन क्षेत्र बनाएको छ ।
जातीय संरचनामा पहाडिया जातजाति (ब्राह्मण, क्षेत्री, ठकुरी) ४३.३ प्रतिशत, पहाडिया जनजाति २६ प्रतिशत, तराई जनजाति १४.३ प्रतिशत, तराई जाति ६.४ प्रतिशत, पहाडिया दलित ६.४ र तराई दलित १.५ प्रतिशत छन् ।
नयाँ र पुरानोको ब्यालेट वार
स्थानीयले बताउँछन्, “बालेनले उम्मेदवारी घोषणा गरेसँगै यहाँको चुनावी तापक्रम बढेको छ ।” सामाजिक सञ्जालदेखि गाउँघरसम्म अब ओली र बालेनबीचको तुलना चलिरहेको छ । रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवार तोकेसँगै उनको लोकप्रियता युवामाझ बढेको छ ।
अघिल्ला वर्षहरूमा विचार र पार्टी निष्ठा बलियो थियो भने यसपटक पुस्तान्तरणको बहसले अग्रस्थान लिएको छ । बालेन युवा पुस्ताको प्रतिनिधित्व गर्दै अघि बढेका छन् भने ओली अनुभवी नेतृत्वको प्रतीक बनेका छन् ।
मतदाताले अन्तिम निर्णय फागुन २१ गते ब्यालट बक्समा गर्नेछन् । त्यो दिन झापा–५ मा ‘पुरानो विरासत जित्ने कि नयाँ पुस्ता उठ्ने’ भन्ने प्रश्नको जवाफ आउनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो