इटहरी । अर्वाचीन समाज, इटहरीले स्वस्थानी व्रतकथाको समापनका अवसरमा भजन–कीर्तन तथा विचार गोष्ठी कार्यक्रम सहित सम्पन्न गरेको छ ।
ज्येष्ठ नागरिक समाजका अध्यक्ष धर्मराज आचार्यको अध्यक्षता तथा संस्कृतिविद् प्रा.डा. बद्रीविशाल पोखरेलको प्रमुख आतिथ्यता र अर्वाचीन समाजकी अध्यक्ष मिथिला पोखरेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । इटहरी–६ स्थित ज्येष्ठ नागरिक समाजको सभाकक्षमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पारखेलले इटहरी गाविसका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठ र पूर्व नगरप्रमुख सर्वध्वज साँवाको कार्यकालमा स्थापित ज्येष्ठ नागरिक समाजको सभाकक्षमा कार्यक्रम गर्न पाउनु सुखद रहेको बताईन ।
अध्यक्ष पोखरेलले स्वस्थानी व्रत कथाको नालिबेली केलाउँदै नेपाली संस्कृतिभित्र रहेका विकृति र कुसंस्कार हटाउँदै लैजानु पर्नेमा जोड दिइन् । उनले उमेरले अत्यन्त जीर्ण पुरुषलाई युवतीहरूसँग विवाह गराउने र स्वस्थानीको प्रसाद छोरीलाई नदिएर खोलामा बगाउने जस्ता अन्धविश्वासी प्रचलनलाई आम महिलामाथिको अपमान भएको बताईन ।
उनका अनुसार जननेता मदन भण्डारीले पनि सांस्कृतिक रुपान्तरणका विषयमा गहिरो चासो दिएका थिए तर हाल मदन भण्डारी फाउण्डेशनले समेत त्यस विषयमा बेवास्ता गरेकोले चेतना कमजोर बनेको उल्लेख गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. पोखरेलले पूर्वजहरूले परिकल्पना, प्रयोग र अभ्यास गरेका संस्कार–संस्कृतिको जगेर्ना गर्दै त्यसका विकृत पक्षहरू सुधार्नुपर्ने औंल्याए । उनले “नाकबाट सिँगान आउँछ भनेर नाक काट्ने अपराध गर्नु हुँदैन” भन्दै परम्परागत संस्कृतिलाई परिष्कृत र समयसापेक्ष बनाउनु पर्नेमा जोड दिए ।
ज्येष्ठ नागरिक समाजले सुप्रसिद्ध धार्मिक तथा सामाजिक सुधारक पं. छविलाल पोखरेल, पथिक कवि लक्ष्मी आचार्य र समाजसेवी रामबहादुर ताल्चाभण्डेलाको स्मृतिमा कार्यक्रम आयोजना गर्दा समाजसेवी भावना बलियो बन्ने उल्लेख गरियो ।
“स्वस्थानी हाम्रो नेपाली संस्कृति, संस्कृतिमा कहिल्यै नमिसाउ विकृति” भन्ने शीर्षकको भजनसहित सम्पन्न कार्यक्रममा कोशी प्रदेश ज्येष्ठ नागरिक समाजका अध्यक्ष पुण्यप्रसाद न्यौपाने, समाजकी सचिव रीता श्रेष्ठ, पूर्व सचिव केदार काफ्ले, कुलराज दुलाल, कवि शकुन्तला मञ्जरी, पं. बुद्धिसागर दाहाल, कल्पना लुइँटेललगायतले आ–आफ्ना रचनासहित मन्तव्य दिएका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो