पूर्वदेखि पश्चिमसम्मको वालेनको चुनावी दौडाहा

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गएको माघ ४ गते राजनामा दिएर राष्ट्रिय राजनीतिमा आए । २०७९ को स्थानीय तहको निर्वाचनमा भारी मतान्तरसहित विजयी बनेका मेयरले कार्यकालको डेढ वर्ष बाँकी हुँदै राजीनामा बुझाएर संसदीय राजनितिमा होमिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन यतिबेला देश दौडाहामा छन् । रास्वपाले जनकपुरमा माघ ५ गते पहिलो चुनावी घोषणा कार्यक्रम गरेको थियो ।

सो कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र बालेन एउटै मञ्चमा देखिएका थिए । मैथिली भाषामा सम्बोधन गर्दै बालेनले संघीय संरचनालाई कमजोर नभई थप सुदृढ बनाउनुपर्ने बताएका थिए । जनकपुरबाट काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । “यहाँको प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्छ भने संघीयताको अर्थ के रह्यो रु काठमाडौं अधिकार माग्न जानुपर्ने ठाउँ होइन, घुम्न जाने ठाउँ हो । पशुपति, स्वयम्भू हेर्न जाने हो, अधिकार माग्न होइन,” बालेनले भनेका थिए । त्यसक्रममा बालेनले काठमाडौं महानगरपालिकामा गरेको परिवर्तन मधेसमा पनि आवश्यक रहेको बताउँदै राजनीतिक सामाजिक रूपान्तरणको आह्वान गरेका थिए । महानगरमा हुँदा शिक्षा र स्वास्थ्यमा गरेको परिवर्तनलाई वास्तविक समाजवादसँग जोडेर उनले सम्बोधन गरेका थिए ।

मधेसको छोरो प्रधानमन्त्री बन्ने नभई राम्रा मान्छे आउने भएकाले रास्वपालाई भोट दिन बालेनले आग्रह गरेका थिए । सोही साँझ बालेन आफ्नो उमेदवारी दर्ताका लागि झापातर्फ हिँडेका थिए । मनोनयन दर्ताकै दिन माघ ६ गते बालेनको समर्थनमा र्‍याली निकालिएको थियो । त्यसको भोलिपल्ट माघ ७ गतेदेखि झापामा आफ्ना समर्थन शुभचिन्तकसँग भेटघाट तीव्र पारे । त्यहाँ बालेनले केही बोलेनन् । बरु शुभचिन्तकले गरेका गुनासा र समस्या उनको टिमले टिपोट गरेको थियो । सोहीअनुसार, बालेन माघ ८ गते बिहान इलाम पुगे । उनले इलाममा पार्टीका उमेदवार र स्थानीय नागरिकसँग पनि संवाद गरेका थिए । माघ ९ साँझ ताप्लेजुङ पाथीभरा पुगे । त्यसपछि बालेन तेह्रथुम हुँदै म्याङलुङ बजार पुगेका थिए । बालेनको सचिवालयका अनुसार, मध्यपहाडी लोकमार्ग आसपासका विभिन्न बजारमा स्थानीय बासिन्दासँग भेटघाट भएको थियो । म्याङलुङमा स्थानीयसँग भेटघाट र छलफल गरेपछि माघ १० गते बालेन संखुवासभाको चैनपुर पुगेका थिए ।

चैनपुरमा प्रतिनिधिसभा सदस्यका उमेदवार मिङ्मा शेर्पासहित पार्टी पदाधिकारी स्थानीयसँग छलफल गरेका थिए । त्यसक्रममा बालेनले पार्टीका उमेदवारलाई विजयी गराउन आग्रह गरेका थिए । बालेनले छोटो सम्बोधन गर्दै पूर्वी नेपाल पर्यटन, कृषि र पूर्वाधार विकासका दृष्टिले सम्भावनायुक्त क्षेत्र रहेको बताएका थिए । फर्किने क्रममा धनकुटामा गाडी नरोकी भेटघाट गरेका थिए । सोही दिन अपराह्न इटहरी पुगेका उनले केहीबेर समर्थकसँग गाडीबाटै भेटघाट गरेका थिए । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धरान, धनकुटा, इटहरी समेटिएको भ्रमण पूरा गरी गएको शनिबारसाँझ विराटनगर विमानस्थलबाट काठमाडौं आइपुगे । बालेनको चुनावी दौरानका क्रममा स्थानीयमा समस्या सुनेका थिए । तर, उनले आफ्नो प्रतिक्रिया खासै दिएनन् । अधिकांश ठाउँमा रास्वपाको चुनाव चिह्न घण्टी बजाउँदै अभिवादन गर्दै बालेन हिँडेका छन् । स्थलमार्गमार्फत देश दौडाहमा पुगेका बालेनले अधिकांश ठाउँमा पैदलयात्रा गरेको उनको सचिवालयले जनाएको छ । केही ठाउँमा गाडीबाटै पनि भेटघाट र कुराकानी गरेका थिए । पूर्वी जिल्लाको चुनावी अभियानका क्रममा बालेनले प्रयोग गरेको गाडीको विषयमा विवाद भएको थियो । सो विवादबारे बालेनको सचिवालयले भाडामा लिएको दाबी गरेको थियो । तर, बालेनले कुनै जवाफ दिएका छैनन् । उनका प्रतिस्पर्धी ओलीले प्रधानमन्त्रीका उमेदवारसँग पब्लिक डिबेट गर्न तयार रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । तर, बालेनले सामाजिक सञ्जाल फेसबुकबाटै डिबेट इन्कार गरेका थिए । झापा ५ मा आफ्नी श्रीमती सबिना काफ्लेलाई घरदैलो अभियानमा खटाएर यतिबेला बालेन सुदूरपश्चिमको दार्चुला पुगेका छन् ।

उनी बुधबार ९माघ १४० बिहान मात्रै डडेलधुरा हुँदै दार्चुला पुगेका हुन । बालेनले ११ राजधानीका उमेदवारहरूसँग भेटघाट गरेका थिए । माघ १२ काठमाडौंबाट हवाईमार्गमार्फत नेपालगन्ज पुगेका थिए । माघ १३ बर्दिया ठाकुरबाबा दर्शन गरेका बालेनले दिउँसो पार्टी कार्यालय उद्घाटन गरे । जनसम्पर्क तथा अभिवादन अभियानका लागि सुदूरपश्चिम भ्रमणमा रहेका बालेनले कैलालीका विभिन्न स्थानमा आयोजित कार्यक्रम सम्पन्न गरिसकेका छन् । बालेन आजै बिहान हिउँमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डोटेली भाषामा लेखेका छन्, “सुदूर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई १” डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर हुँदै अछामसम्म पुग्ने कार्यतालिका रहेको अछाम २ का उमेदवार भूपदेव शाहले बताए ।

“सुदुरपश्चिमका सबै जिल्लाहरूमा पुग्नुहुन्छ । उहाँले देशको भूगोल र समग्र वस्तुस्थिति बुझ्नुहुनेछ । वर्षौंदेखि देखिएका स्थानीयका समस्या सुन्ने काम भइरहेको छ । परिवर्तनको पक्षमा देखिएको जनलहरसँग प्रत्यक्ष जोडिने अभियान हो,” उनले भने । रास्वपाका सभापति रवि लामिछानेको खुट्टामा संक्रमण देखिएकाले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । रविको सचिवालयका अनुसार, उपचारपछि लामिछाने पनि सक्रिय रूपमा चुनावी घरदैलोमा जानेछन् । “रवि दाइ उपचाररत हुनुहुन्छ । अधिकांश उमेदवारहरूले घरदैलो सुरु गरिसक्नुभएको छ । उपचारपछि रवि दाइ पनि सक्रिय बन्नुहुन्छ । पार्टीको वाचापत्र पनि तयार हुँदैछ,” स्वकीय सचिव अविनाश आचार्यले भने ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया