कोशी प्रदेशमा पर्यटन प्रवद्र्धनको दिगो आधार तयार पार्न ३ करीडोर, २० गन्तव्य

खगेन्द्र कार्की

विराटनगर । कोशी प्रदेशमा पर्यटन प्रवद्र्धनको दिगो आधार तयार पार्न ३ पर्यटकीय करीडोर र नयाँ २० गन्तव्य छनौटको प्रकृया शुरु भएको छ । प्रदेश सरकारले पर्यटन क्षेत्रको दीगो विकासका लागि यो नयाँ रणनीतिक योजना अगाडि सारेको हो ।  

विगतमा साना र छरपस्ट योजनाहरूमा बजेट विनियोजन गर्दा अपेक्षित प्रतिफल ननिस्किएपछि सरकारले अब एकीकृत लगानीको नीति लिने जनाएको छ । प्रदेशको विकासका दुई मुख्य खम्बा कृषि र पर्यटनलाई मानेको सरकारले अबको लगानीलाई परिणाममुखी बनाउन पर्यटन गुरुयोजना भित्रै यी कार्यक्रमहरूलाई समेट्न लागेको जनाएको छ ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार अबको योजना हचुवाका भरमा नभई ठोस प्रमाण र आवश्यकताका आधारमा तय गरिनेछ । विगतमा साना–साना योजनामा बजेट छर्ने प्रवृत्तिले पर्यटकीय पूर्वाधारको विकास हुन नसकेको भन्दै अब २० वटा प्रमुख गन्तव्य र तीनवटा कोरिडोरमा बजेट केन्द्रित गर्ने उनले जनाए ।

सरकारले पर्यटन विकासलाई प्रभावकारी बनाउन कोशी प्रदेशलाई तीनवटा कोरिडोरमा विभाजन गर्ने तयारी गरी अध्ययन थालेको हो । पश्चिमतर्फ सगरमाथा करिडोर अर्थात् मधेशसँग जोडिएर सरमाथाको द्वारसम्मको पहिलो कोरिडोर, कोशी कोरिडोर (इटहरी, धरान र कोशी नदी आसपासको क्षेत्र) र तेस्रो, मेची कोरिडोर (ताप्लेजुङ, इलाम लगायत पूर्वी सीमा क्षेत्र) रहनेछन् । यी कोरिडोरहरूमा प्रदेशका १४ वटै जिल्ला समेटिने गरी २० वटा उत्कृष्ट पर्यटकीय स्थलहरूको पहिचान गरिनेछ । ती गन्तव्यहरूमा पर्यटकलाई कम्तीमा ५ देखि ७ दिनसम्म टिकाउने गरी भौतिक पूर्वाधार र सेवा सुविधाहरूको विकास गर्न सकिने सरकारको विश्वास छ ।

कोशी प्रदेश सरकारले अघिल्लो वर्ष ‘कोशी पर्यटन वर्ष’ घोषणा गर्दै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू अघि सारेको थियो ।  


खगेन्द्र कार्की
प्रतिक्रिया