घरदैलोमै पशु उपचार: दमकमा गाईभैँसीको बाँझोपन न्यूनीकरण अभियान प्रभावकारी
फाष्ट मिडिया नेपाल संवाददाता
२८ जेठ २०८३, बिहिबार ०९:१६ मा प्रकाशित
674
इटहरी / गाईभैँसीमा देखिने बाँझोपनको समस्या न्यूनीकरण गर्ने उद्देश्यले दमक नगरपालिकाले पशुपालक किसानका घरदैलोमै पुगेर निःशुल्क घुम्ती शिविर सञ्चालन गरेको छ। जेठ २६ र २७ गते दुई दिनसम्म सञ्चालन गरिएको शिविरमार्फत नगरका विभिन्न वडामा रहेका गाईभैँसीको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको हो।
दमक नगरपालिका पशुपन्छी विकास शाखाका पशु विकास अधिकृत विपु अधिकारीका अनुसार शिविरका क्रममा २५ जना पशुपालक किसानका घरगोठमा रहेका ४० वटा गाईको बाँझोपन सम्बन्धी अवस्था परीक्षण गरिएको थियो। चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको शिविरमा बाँझोपनको समस्या देखिएका गाईहरूको गर्भ तथा पाठेघर आधुनिक उपकरणमार्फत परीक्षण गरी आवश्यक औषधि उपलब्ध गराइएको थियो। आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार केही गाईलाई इन्जेक्सन समेत लगाइएको उनले बताए।
पछिल्लो समय प्राकृतिक वा कृत्रिम गर्भाधान गरिए पनि पटक–पटक गर्भ नबस्ने तथा बसेको गर्भ खेर जाने समस्या बढ्दै गएको गुनासो किसानहरूबाट आएपछि विशेषज्ञ पशु चिकित्सकको सहभागितासहित घुम्ती शिविर सञ्चालन गरिएको हो। यसले किसानहरूलाई आफ्नै घरमा सहज रूपमा प्राविधिक सेवा प्राप्त गर्न सहयोग पुगेको छ।
शिविर दमक नगरपालिका वडा नं. १, २, ३, ४, ९ र १० मा सञ्चालन गरिएको थियो। घरदैलोमै पुगेर गरिएको स्वास्थ्य परीक्षण र उपचार सेवाबाट पशुपालक किसानहरू प्रत्यक्ष लाभान्वित भएको नगरपालिकाले जनाएको छ। गर्भाधानपछि गर्भ स्थायी नहुने समस्याका कारण धेरै किसान आर्थिक र मानसिक तनावमा परिरहेका बेला यस्तो कार्यक्रम प्रभावकारी बनेको छ।
शिविरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख विज्ञ डा. राघवेन्द्र तिवारीले पनि सेवा प्रदान गरेका थिए। घुम्ती टोलीमा पशुपन्छी विकास शाखा प्रमुख डा. आकृति सिंह, पशु विकास अधिकृत विपु अधिकारी तथा पशु स्वास्थ्य सेवा प्राविधिक निरुता चापागाईलगायतको सक्रिय सहभागिता रहेको थियो।
दमक नगरपालिकाले गाईभैँसीमा हुने बाँझोपन न्यूनीकरणका लागि हरेक वर्ष यस्ता निःशुल्क घुम्ती शिविर सञ्चालन गर्दै आएको छ, जसले पशुपालन व्यवसायको दिगोपन र किसानको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।