एक श्रमिकको हथौडा र छिनोले सिर्जना गरेको काठको संरचना केवल घर होइन, त्यो त थकित आत्माहरूका लागि सुरक्षित बास हो, सपना र सम्झनाहरूले भरिएको मन्दिर हो । एक सिलाइ गर्ने श्रमिकको सुई र धागोले बुनेका कपडाहरू शरीर ढाक्ने वस्त्र मात्र होइनन्; तिनले मानिसको आत्मसम्मानलाई सजाउँछन् र आत्मबल बढाउँछन् । यातायातमा आफ्नो समय र जीवन समर्पण गर्ने चालकको सानो सानो निर्णयले सयौँ यात्रुको गन्तव्य निश्चित हुन्छ, जसले हजारौँ परिवारका कथा र सम्बन्धहरू जोगाउँछ । एउटा मजदुरको पर्खालमा राखिएको प्रत्येक इँटा केवल निर्माणको एकाइ होइन, त्यो त सुरक्षाको आधारशीला बन्ने गरेको छ ।
राजनीतिलाई पनि यही अर्थमा बुझ्नुपर्ने हो, यही दिशामा लैजानुपर्ने हो । यहि सोच र चिन्तनको विकास हुनुपर्ने हो । राजनीतिबाट एउटा श्रमिकले सिर्जना गरेको वस्तुको इज्जत र प्रतिष्ठा जोगिनुपर्छ । तर यहाँ त्यस्तो देखिँदैन । राजनीति आज एउटा व्यवसाय बनेको छ ( ठेक्कापट्टा, कमिशन, कुशासन, भ्रष्टाचारमा लिप्त पहुँच र स्वार्थका धागोले बाँधिएको । हैकमवादी सोच, हेपाहा प्रवृत्ति र मिचाहा मानसिकताले लोकतान्त्रिक मूल्यहरूलाई ओझेलमा पारेको छ । जनताको आशा र भरोसा दलको घोषणापत्रमा मात्र सीमित हुने, व्यवहारमा बिलाउँदै जाने क्रमले राजनीतिमा विश्वासको संकट सिर्जना गरेको छ ।
आजको विश्व तीव्र प्राविधिक परिवर्तनको लहरमा छ । कृत्रिम बुद्धिमत्ता, स्वचालित प्रणाली र डिजिटल अर्थतन्त्रले श्रमको परम्परागत स्वरूपलाई चुनौती दिएका छन् । कारखानामा मेसिनले मानिसको स्थान लिँदैछ, कार्यालयमा एल्गोरिदमले निर्णय गर्दैछ । उत्पादकत्व र सुविधा बढेका छन्, तर सामान्य मानिसको ‘गरिखाने’ आधार खस्दै गएको छ । आशाहरू मर्दैछन्, अवसरका ढोका बन्द हुँदैछन्, चुनौतिका पहाडहरू अझै अग्ला भइरहेका छन् । असमानता, रोजगारीको अनिश्चितता र सामाजिक सुरक्षाको अभावले विश्वभरका समाजमा असन्तोष बढेको छ ।
नेपाल पनि यसबाट अछुतो छैन । असन्तुष्टि, आक्रोस हरेक मनमा छ । तर त्यो असन्तुष्टिलाई अभिव्यक्त गर्ने बाटो र प्लेटफर्ममा समस्या छ । रिस सबैलाई उठ्छ ( कसैलाई गुमेको अवसरले, कसैलाई नपाएको अधिकारले । समाजमा राग, द्वेष, इष्र्या, प्रतिशोध र धाकधम्कीको संस्कृति बढेको छ । मानौं, आफ्नो अस्तित्व देखाउन अरूलाई च्याप्नु, चुप लगाउनु वा होच्याउनु नै उपाय हो । सामाजिक सञ्जाल आज संवादको माध्यमभन्दा बढी युद्धभूमि बनेको छ । शब्दले गोलीको काम गर्छ, मतभेदले दुश्मनीको । एउटै विचारधारामा पनि दर्जनौँ बिमति देखिन्छ ।
पहुँचवालाले निर्धोमाथि गरेको अन्याय त छँदैछ, तर पहुँचवालाकै बीचमा पनि प्रतिस्पर्धा, षड्यन्त्र र विभाजनको राजनीति उस्तै छ । यद्यपि स्वार्थको समयमा भने उनीहरू एकै ठाउँमा मिसिन्छन्, मिलेमतोको मुी कसिलो हुन्छ । यही मुीले ‘परिवर्तन’ भन्ने शब्दलाई निस्तेज बनाउँछ, छायाँमा पार्छ ।
२०७२ सालयता हामीले दर्जनौँ आन्दोलन देख्यौं ( मधेसका आन्दोलन, पहिचानका आन्दोलन, विद्यार्थी र शिक्षकका आन्दोलन, स्वास्थ्यकर्मी र इन्जिनियरका आन्दोलन । विभिन्न पेशा, व्यवसाय, संघसंगठनका आन्दोलन भए तर अहिलेसम्म कसैको चित्त बुझ्ने आधार पाउन सकेका छैनन । प्रत्येक आन्दोलनले नयाँ प्रश्न मात्रै उठायो, तर समाधानको बाटो खोजेन । आम जनताभन्दा माथि उक्लिने नेतृत्वले आफ्नो फाइदा देख्यो, राष्टूको होइन । म र मेरो मात्र भन्न सिक्यो हामी भन्नै जानेन अर्कोतिर आम मानिसलाई हाम्रो भन्ने आधार तयार गर्न पनि सकेन ।
हाम्रो सोच पनि त्यस्तै घेराभित्र अड्किएको छ । हामी ‘म’ बाट ‘हामी’ बन्न जान्दैनौं । साझा भावना, सामूहिक सोच र सहकार्यको परम्परा हराउँदै गएको छ । जसले पद पाउँछ, ऊ जनताको होइन, आफ्नो वृतको सेवक बन्छ । जिम्मेवारीभन्दा बढी सौदा गर्छ । जनताको भरोसा केही स्वार्थी व्यापारमा मिसिन्छ । चेतनाको स्तर त्यति तल झरेको छ कि हामी अब पनि नेताको अनुहारमा मुक्तिको सपना खोज्छौं, आफ्नो कर्ममा होइन ।
अहिले फेरि परिवर्तनको उभार देखिन्छ । मानिसहरू फेरि नयाँ सुरुवातको आशा गरिरहेका छन् । तर त्यसलाई दबाउन, भड्काउन वा बिगार्न ठूलो षड्यन्त्र र तानाबाना बुनिँदैछ । हरेक व्यक्ति र समूह कुन बेला षड्यन्त्रको सिकार बन्ने हो पत्तो हुँदैन । समस्या देखिन्छ, तर समाधानको दिशा मेटिन्छन ? गालीगलौज र चरित्रहत्या देखि हत्या, हिंसा सामान्य बनेका छन् । विचार र विवेकभन्दा नाराबाजी र हल्ला प्रबल छन् ।
नेपालले धेरै असामान्य क्षणहरू भोगेको देश हो । कहिले राजदरबारभित्रै वंशनाश हुन्छ र कसरी भयो भन्ने पत्तो लाग्दैन । कहिले सडकमै ७५ जनाभन्दा बढीको हत्या गरिन्छ, दुनियाँ आमा बाबुको सपना टुटाइन्छ, टेक्ने लौरो न समाउने हाँगो बनाइन्छ कसैको जिम्मेवारीमा पर्दैन । कहिले संविधान आउँछ, तर न्याय र समानताको अनुभूतिले छुँदैन । मधेस आन्दोलन, पहिचानवादीका आन्दोलन धेरै भए ति सबै पानीको फोका झै भए । पछिल्लो समयमा जेनजी आन्दोलन भयो । सरकार नै अपदस्त भयो तर पनि त्यो आन्दोलनलाई समेत पानीको फोका बनाउने प्रपञ्च रचिँदैछ, यस्ता घटनाले जनताको चेतनामा सन्देह, पीडा र असुरक्षाको बिउ रोपेका छन् ।
तर यति पीडा बीच पनि निराशा पूर्ण छैन । जनताले अझै पनि आशा मरेका छैनन् । परिवर्तनकारी र यथास्थितिवादी दुवै शिविरहरू युद्धमै छन् । २०४६ को आन्दोलनमा होमिएको एउटा ठिटो आज बृद्धावस्थामा सुरक्षा खोजिरहेको छ । तर उसको चेतना अझै जीवित छ । ऊ भन्छ ( “अब मेरो पालो सकियो होला, तर छोरा, नातिहरूले सुखी देश देखून्।” यही चेतना अझै पनि देशभक्तहरूको मुटुमा धड्किरहेको छ ।
अब प्रश्न यही हो ( के हामी फेरि पनि उही चक्रमा घुम्ने त ? कि अब साँचो परिवर्तनको दिशा लिने ? राजनीतिक सिण्डिकेट, ठेक्कापट्टा र पहुँचको खेलले देशलाई धराशायी बनाएको छ । अब यथास्थितिवादीहरूले आत्मालोचना गर्नुपर्छ । चेतनाको उभार कुनै भाषण वा घोषणा होइन; यो त व्यवहारमा, जीवनशैलीमा, निर्णयमा र मूल्यमा प्रकट हुनुपर्छ ।
नेपाली समाजले फेरि पनि आफूभित्रको शक्ति चिन्नुपर्छ । परिवर्तन बाहिरबाट होइन, चेतनाको पुनर्जागरणबाट आउँछ । श्रमिकको हथौडाबाट, शिक्षकको कलमबाट, आमाको माया र किसानको पसिनाबाट आउने त्यो परिवर्तन नै साँचो हो ।
अब देशले नयाँ अध्याय लेख्नैपर्छ । सत्ताको सिंहासन होइन, सेवाको भावना मुख्य हुनुपर्छ । राजनीति व्यवसाय होइन, समाजसेवाको प्रतिज्ञा हुनुपर्छ । तबमात्र “चेतना र परिवर्तनको उभार” शब्दमा होइन, व्यवहारमा देखिनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो