दमक । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको रफ्तारमा छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै गत माघ १० गतेदेखि १८ गतेसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेको हो ।
आयोगका अनुसार निर्वाचनको पूर्वतयारी अन्तर्गत मतपत्र छपाइ, संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, आचारसंहिताको नियमन र अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने लगायतका महत्त्वपूर्ण कामहरू सम्पन्न भएका छन् ।
मतपत्र छपाइ र प्राविधिक तयारी
आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार थान मतपत्र र मतदाता शिक्षाका लागि करिब ११ लाख थान नमुना मतपत्रको छपाइ कार्य सम्पन्न गरेको छ ।
यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छापिसकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी गराए ।
आचारसंहिता उल्लंघन गर्नेमाथि तीव्र निगरानी
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले आचारसंहिता उल्लंघन गर्नेहरूमाथि कडा निगरानी थालेको छ ।
डिजिटल कारबाहीः मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने १२० कन्टेन्ट उत्पादकलाई साइबर ब्युरोमा कारबाहीका लागि सिफारिस गरिएको छ ।
अनुगमनः ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई ’आचारसंहिता अनुगमन अधिकृत’ तोकिएको छ ।
उजुरी संयन्त्रः नागरिकका लागि उजुरी दिन भअल.अयअ२भभिअतष्यल.नयख.लउ इमेलको व्यवस्था गरिएको छ। हालसम्म २१ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा १२ वटाको जवाफ प्राप्त भइसकेको छ ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्रको सुरुवात
निर्वाचन अनुगमनलाई प्रभावकारी बनाउन माघ ११ गतेदेखि आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीद्वारा उद्घाटन गरिएको यस केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको प्रतिनिधित्व रहेको छ । यसले देशभरका सूचना विश्लेषण र समस्या समाधानमा सहजीकरण गर्नेछ ।
आर्थिक पारदर्शिता र निजी क्षेत्रको ऐक्यबद्धता
आयोगले निर्वाचन खर्चलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ ।
यसका लागि “निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२“ समेत तयार गरिएको छ। यता, निजी क्षेत्रका छाता संगठनहरूले निर्वाचनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अन्य गतिविधिहरूः
कल सेन्टरः माघ ५ गतेदेखि सञ्चालित कल सेन्टरमा हालसम्म एक हजार ६७७ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा अधिकांश मतदाता नामावलीसँग सम्बन्धित छन् ।
अन्तर्राष्ट्रिय ब्रिफिङः माघ १५ गते काठमाडौँस्थित कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूलाई निर्वाचन तयारीबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी गराइएको छ ।
मतदाता शिक्षाः आयोगले फेसबुक, टिकटक र युट्युबमार्फत १५८ वटा सचेतना सामग्रीहरू प्रचारप्रसार गरिरहेको छ ।
आयोगले निर्वाचनको वातावरण उत्साहजनक रहेको र निर्धारित समयमै निष्पक्षरूपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो