कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुरस्थित बेलौरी नगरपालिका–६ का किसान आसरेराम वडायक आधुनिक प्रविधिको प्रयोग गर्दै खेतीलाई व्यवसायिक रूपमा रूपान्तरण गरेका छन्। ड्रोनमार्फत कीटनाशक छर्ने, ट्याबमार्फत बालीको व्यवस्थापन गर्ने वडायक अहिले वार्षिक २६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
दश वर्षअघि वैदेशिक रोजगारीका लागि काठमाडौं पुगेका वडायकले त्यहाँको एक पोलिहाउसमा टमाटर खेती देखेपछि स्वदेशमै खेती गर्ने निर्णय गरेका थिए। उनले भारतको पन्तनगरमा दुई दिनको कृषितालिम लिएर फर्किए र बेलौरीमै पोलिहाउस टमाटर खेती सुरू गरे।
‘सुरुमा फाइदा भएन, तर तालिमपछि नयाँ तरिकाले खेती गर्न थालेँ,’ वडायकले भने, ‘अब खेती मेरो मुख्य व्यवसाय बनेको छ।’
हाल वडायकले आफ्नो र भाडामा लिएको गरी नौ बिघा जमिनमा उखु, धान, तोरी, मुसुरो र आलु खेती गर्दै आएका छन्। खेतीबाटै आम्दानी गरी उनले एक करोड रुपैयाँभन्दा बढी मूल्यका कृषि उपकरण खरिद गरेका छन्। गत वर्ष उनले १० लाख रुपैयाँमा ड्रोन खरिद गरी कीटनाशक छर्ने कार्य स्वचालित गरेका हुन्।
मिश्रित खेतीमा जोड दिँदै वडायकले उखुसँगै आलु, तोरी र मुसुरो खेती एकैसाथ गर्ने गरेका छन्। यसरी खेती गर्दा लागत घट्ने र उत्पादन वृद्धि हुने उनले बताए। ‘उखुमा प्रयोग हुने मल आलुलाई पनि काम लाग्ने हुँदा एउटै लगानीमा दुई बाली लिन सकिन्छ,’ उनले भने।
उखु खेतीमा बड कटर मेसिनद्वारा बिउ उत्पादन गर्ने प्रविधि प्रयोग गर्दै आएका वडायक प्रति बिघा करिब ११ सय क्विन्टल उखु उत्पादन गर्छन्। उनले अन्य २० किसानलाई पनि छरुवा धान खेती प्रविधिमा प्रेरित गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले वडायकलाई प्रदेशकै उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको छ।
‘कृषि अब निर्वाहमुखी होइन, व्यवसायिक दृष्टिले हेर्नुपर्छ,’ वडायक भन्छन्, ‘मिहिनेतसँगै सोच बदल्न सके गाउँमै बसेर पनि करोडौं कमाउन सकिन्छ।’
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो