आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाको कब्जामा

खगेन्द्र कार्की

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ ।

आइतबार भारतको हैदराबादमा भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई पराजित गर्दै उपाधि जितेको हो ।अष्ट्रेलियाले घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो । भारतले अष्ट्रेलियालाई २४१ रनको चुनौती प्रस्तुत गरेको थियो ।

फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाको सुरुआत राम्रो नभए पनि ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो । 

मोहम्मद शामीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेट लिए । शामीको लुड लेन्थ बलमा बार्नरले खेल्न खोजेका थिए, तर ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । उनी मात्र ७ रनमा आउट भए ।

खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिशेल मार्शको विकेट लिए । उनी १५ रनमा आउट भए । आफ्नो अर्को ओभरमा उनले नै स्टिभ स्मिथलाई एलबीडब्लू धरापमा पारे । बुमराहको स्लो कटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपीलमा फिल्ड अम्पायरले विकेट लिए । स्मिथले रिभ्यू लिएनन् । जबकि रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।

४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएसँगै दबाबमा आएको अष्ट्रेलियाले पावर प्लेमा निकै संघर्ष गर्नु परेको थियो । तर हेडले लाबुशेनसँग मिलेर पारी सम्हाले ।

दुवैले चौथो विकेटका लागि १९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।

म्याक्सबेलले पहिलो बलमै दुई रन लिएपछि अष्ट्रेलिया विजयी भयो ।

खगेन्द्र कार्की
प्रतिक्रिया