इङ्गल्याण्डको ऐतिहासिक जित, फ्रान्सको बिदाइ निराशाजनक
फाष्ट मिडिया नेपाल संवाददाता
३ साउन २०८३, अाईतबार ०६:०३ मा प्रकाशित
518
एजेन्सी । बुकायो साकाको उत्कृष्ट ह्याट्रिक र अन्तिम सेकेन्डमा जुड बेलिङ्घमको निर्णायक गोलको मद्दतले इङ्गल्याण्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ।
मियामी स्टेडियममा आज बिहान सम्पन्न १० गोल भएको रोमाञ्चक खेलमा इङ्गल्याण्डले कास्य पदक जितेको हो। सन् १९६६ मा विश्वकप उपाधि जितेपछि विश्वमञ्चमा इङ्गल्याण्डको यो उत्कृष्ट नतिजा मानिएको छ। पराजयसँगै फ्रान्सका प्रशिक्षक डिडिएर डेसक्याम्प्सको सफल बिदाइको सपना पनि अधुरै रह्यो।
इङ्गल्याण्डले खेलको सुरुआतदेखि नै दबाब बनाउँदै तेस्रो मिनेटमा डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि एज्री कोन्सा र बुकायो साकाका दुई गोलसहित पहिलो हाफ ४–० ले आफ्नो पक्षमा पार्यो।
दोस्रो हाफमा फ्रान्सले किलियन एम्बाप्पेका दुई तथा ब्राडली बारकोलाको एक गोलमार्फत खेललाई ४–३ को अवस्थामा पुर्याउँदै पुनरागमनको संकेत दिएको थियो। तर ८७औँ मिनेटमा पेनाल्टीमार्फत साकाले ह्याट्रिक पूरा गर्दै इङ्गल्याण्डलाई ५–३ को अग्रता दिलाए।
इन्जुरी समयमा ओसमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ५–४ को नजिक पुर्याए पनि ९०+८औँ मिनेटमा जुड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै इङ्गल्याण्डको ६–४ को ऐतिहासिक जित सुनिश्चित गरे।
यस खेलमा माइकल ओलिसेले एक असिस्ट थप्दै विश्वकप २०२६ मा आफ्नो असिस्ट संख्या ७ पुर्याए, जुन सन् १९६६ यता एउटै विश्वकप संस्करणमा कुनै खेलाडीले गरेको सर्वाधिक असिस्ट हो। यस्तै, एम्बाप्पेले प्रतियोगितामा १० गोल गर्दै सर्वाधिक गोलकर्तामध्ये आफ्नो नाम दर्ज गराएका छन्।
२०२२ र २०२६ को परिस्थिति उल्टो
२०२२ को उपविजेता बनेको फ्रान्स यो पटक तेस्रो पनि हुन सकेन । कतारमा भएको फिफा विश्वकप २०२२ मा फ्रान्स उपविजेतामा सीमित रह्यो। अर्जेन्टिनासँग ३–३ को रोमाञ्चक बराबरीपछि पेनाल्टी सुटआउटमा पराजित भए पनि किलियन एम्बाप्पेको ह्याट्रिकले विश्व फुटबलमा अमिट छाप छोडेको थियो। त्यतिबेला खेलमैदानमै बसेर उनको गति, आत्मविश्वास र खेलको दिशा एकै क्षणमा बदल्ने क्षमता प्रत्यक्ष देख्ने अवसर पाएको थिएँ। त्यो क्षण आज पनि स्मृतिमा ताजै छ।
चार वर्षपछि, फिफा विश्वकप २०२६ मा फ्रान्स फेरि उपाधिनजिक पुग्न सकेन। तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डसँग ६–४ ले पराजित हुँदै फ्रान्स चौथो स्थानमा सीमित रह्यो। पहिलो हाफमा ४–० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा चार गोल फर्काएर अद्भुत साहस र जुझारुपन प्रस्तुत गर्यो। तर निर्णायक क्षणमा इङ्ल्यान्डले अवसरलाई सही रूपमा सदुपयोग गर्दै तेस्रो स्थान आफ्नो पक्षमा पार्यो।
आज पनि एम्बाप्पेले टोलीका लागि अन्तिमसम्म संघर्ष गरे। तर कतारमा प्रत्यक्ष देखेको त्यो विस्फोटक लय, तीव्र गति र खेलमाथिको प्रभाव आज केही कम महसुस भयो। समयसँगै खेलाडीको अवस्था बदलिन्छ, टोलीको यात्रा पनि बदलिन्छ। २०२२ मा उपविजेता बनेको फ्रान्स चार वर्षपछि चौथो स्थानमा सीमित हुनु विश्व फुटबलमा प्रतिस्पर्धा कति कठिन र परिवर्तनशील छ भन्ने अर्को उदाहरण हो।