काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा मेलमिलापको नीति, धार्मिक पहिचान, संविधान संशोधन र महाधिवेशनसम्म पार्टीका गतिविधि सञ्चालनसम्बन्धी प्रस्ताव पारित गरेको हो।
भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न हुने र उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वास पनि भेलाले व्यक्त गरेको छ।
महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले समन्वय गरी सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यस्तै, भेलाले २०३३ सालमा जननायक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई पुनः स्मरण गरेको छ। मुलुक असहज परिस्थितिबाट गुज्रिरहेको भन्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै लोकतन्त्रवादी शक्तिसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको छ।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्तावसमेत पारित गरेको छ। हिन्दु, बौद्ध, किराँत तथा प्रकृति धर्मको संरक्षण गर्ने दायित्वलाई आत्मसात् गर्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, वर्तमान संविधानमा देखिएका अस्पष्टता तथा जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि पहल गर्ने निर्णय भेलाले गरेको छ। संविधानमा व्यवस्था भएअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी संविधान संशोधनमार्फत निकास खोज्ने प्रस्ताव पारित गरिएको हो।
भेलामा २०८३ साउन ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेत समेटी समितिले परिमार्जनसहित पारित गरेका प्रस्तावलाई लिखित रूपमा तयार गर्ने जिम्मेवारी तोकिएको छ। त्यसका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र केन्द्रीय सदस्य रिता रानासहित मिनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुँडेल सदस्य रहने गरी समिति गठन गरिएको छ।