राजयोगिनी दादीको १९औँ पुण्यतिथिको अवसरमा ब्रह्माकुमारी राजयोग इटहरीले रक्तदान गर्ने

सुप्रिया राई

इटहरी । राजयोगिनी दादी प्रकाशमणि ज्युको १९औँ पुण्यतिथिको अवसरमा इटहरीमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीमा आगामी भदौ ६ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।समाजसेवा प्रभाग ब्रह्माकुमारीको आयोजनामा हुन लागेको उक्त रक्तदान कार्यक्रमबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

ब्रह्माकुमारी संस्थाले भदौ ६ गतेलाई विश्व बन्धुत्व दिवसका रूपमा मनाउँदै आएको जनाएको छ। राजयोगिनी दादी प्रकाशमणिको पुण्यस्मृति दिवसको अवसर पारेर गत वर्षदेखि रक्तदान महादान अभियान सञ्चालन गर्दै आएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका दिदी शारदाले जानकारी दिइन्।

उनका अनुसार रगतको अभावमा कसैको ज्यान जोखिममा परेको अवस्थामा समयमै उपलब्ध हुने रगतले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ। यही मानवीय भावनाका साथ विशेष सोच र उद्देश्य लिएर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उनले बताइन्।


सुप्रिया राई
प्रतिक्रिया