भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसानलाई वर्षभरि मेहनत गरेर लगाएको अन्नबाली जोगाउन मुस्किल भएको छ। मकै पाक्ने समयमा खेतबारीमा बाँदरको झुन्ड पस्ने र केही समयमै बालीनाली नष्ट गर्न थालेपछि किसानलाई दिनभर खेतबारीमै पहरा दिनुपर्ने अवस्था आएको हो।
जिल्लाका नौवटै स्थानीय तहका अधिकांश क्षेत्रमा बाँदरको समस्या देखिएको छ। विशेषगरी तल्लो भेग तथा वनजङ्गल आसपासका बस्तीमा मकै पाक्ने समयमा बाँदरको आतंक बढेको किसानको भनाइ छ। बाँदरले मकैबालीसँगै तरकारी तथा बगैँचाका फलफूलमा समेत क्षति पु¥याउन थालेपछि किसान थप समस्यामा परेका छन्।
भोजपुर नगरपालिका–४ का स्थानीय कुमार राउतका अनुसार बालीनाली पाक्ने बेलामा बाँदरले नष्ट गर्न थालेपछि किसानले खेतबारीमा टहरा बनाएर नियमित निगरानी गर्नुपर्ने अवस्था छ। परिवारका दुईदेखि तीन जनासम्म दैनिक रूपमा खेतबारीमा खटिएर बाँदर धपाउनुपर्ने बाध्यता रहेको उनले बताए। उनका अनुसार बाँदर नियन्त्रणका लागि तत्कालीन उपायसँगै दीर्घकालीन समाधान खोज्न आवश्यक छ।
बालीनाली जोगाउन किसानले विभिन्न उपाय अपनाउँदै आए पनि समस्या समाधान हुन सकेको छैन। बाँदरको झुन्ड खेतबारीमा पस्नेबित्तिकै किसानले धपाउने गरे पनि केही समयपछि पुनः फर्केर आउने गरेको उनीहरूको भनाइ छ। यसका कारण खेतीपातीमा निर्भर परिवारको उत्पादन र आम्दानी दुवै प्रभावित भएको छ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले किसानको मागका आधारमा स्थानीय तह र किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको बताए। उनका अनुसार जिल्लाका धेरै क्षेत्रमा बाँदरको समस्या देखिएकाले तत्कालका लागि यन्त्र वितरणलगायतका उपाय अपनाइएको छ। तर समस्या दीर्घकालीन रूपमा समाधान गर्न थप प्रभावकारी उपाय आवश्यक रहेको उनले बताए।
बाँदरको उपद्रो बढ्दै गएपछि कतिपय स्थानीयले अन्नबाली जोगाउन नसकेर बस्ती नै छाड्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। खेतीपातीमा निर्भर परिवारका लागि बाँदरको समस्या आर्थिक क्षतिसँगै सामाजिक चुनौतीसमेत बन्दै गएको उनीहरू बताउँछन्।
किसानले बाँदर नियन्त्रणका लागि स्थानीय तह, वन कार्यालय र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन योजना बनाउन माग गरेका छन्। अन्नबाली तथा फलफूलमा हुने क्षति घटाउँदै किसानको जीविकोपार्जन सुरक्षित गर्न राज्यले समस्या समाधानमा गम्भीर पहल गर्नुपर्ने उनीहरूको भनाइ छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो