काठमाडौं — दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसामार्फत रोजगारीका लागि नेपाली सीपयुक्त श्रमिक पठाउने प्रक्रिया अघि बढाउन सरकारले औपचारिक पहल थालेको छ।युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत श्रम तथा रोजगारसम्बन्धी निकायले वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो। यससँगै लामो समयदेखि अन्योलमा रहेको ई–७ भिसामार्फत श्रमिक पठाउने प्रक्रिया कानुनी ढाँचाअनुसार अघि बढ्ने अपेक्षा गरिएको छ।मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयको जेठ १९ गतेको पत्र, दक्षिण कोरियास्थित नेपाली नियोगमार्फत प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनले रिट निवेदनमाथि जारी गरेको आदेशलाई आधार बनाएर निर्णय गरिएको हो।निर्णयअनुसार अब ई–७ भिसामा दक्षिण कोरिया जाने सीपयुक्त श्रमिकका लागि आवश्यक रोजगार मागपत्र गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण गराउनुपर्नेछ। त्यसपछि वैदेशिक रोजगारसम्बन्धी सबै प्रक्रिया प्रचलित कानुनअनुसार अघि बढाइनेछ।मन्त्रालयले मन्त्रीस्तरबाट असार १५ गते भएको निर्णयका आधारमा परराष्ट्र मन्त्रालयलाई आवश्यक समन्वयका लागि अनुरोध गरेको जनाएको छ।साथै, वैदेशिक रोजगार विभाग, ताहाचललाई आवश्यक व्यवस्थापन मिलाई प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ। दक्षिण कोरियाको सियोलस्थित नेपाली राजदूतावासलाई पनि उक्त निर्णयको बोधार्थ पठाइएको मन्त्रालयले जनाएको छ।ई–७ भिसा दक्षिण कोरियाले विभिन्न प्राविधिक तथा सीपमूलक क्षेत्रमा विदेशी दक्ष जनशक्ति भित्र्याउन प्रदान गर्ने रोजगारी भिसा हो। नेपाली श्रमिकलाई यो प्रणालीमार्फत पठाउने विषय लामो समयदेखि कानुनी तथा प्रशासनिक अन्योलका कारण प्रभावित हुँदै आएको थियो।
२१ असार २०८३, अाईतबार ०९:५८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो