‘कन्टेन्ट’ को मोह : घट्दै कृषक, बढ्दै ‘फोटो किसान’ : असार १५ को बदलिँदो स्वरूप

फाष्ट मिडिया नेपाल संवाददाता


इटहरी । राष्ट्रिय धान दिवसमा धान दिवसमा ‘कन्टेन्ट’ को मोह बढेको देखिएको छ । खेतमा धान रोप्ने भन्दा सामाजिक सञ्जालमा हिलोमा रोपाइँ गरेको फोटो र भिडियो सार्वजनिक गर्नेको संख्या बढ्दै जाँदा वास्तविक कृषि गर्ने कृषकको संख्या भने निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ ।

नेपालमा कृषि गर्ने कृषक परिवार र खेतीयोग्य जमिन दुवै घटिरहेका बेला राष्ट्रिय धान दिवसका अवसरमा सामाजिक सञ्जालका लागि प्रतीकात्मक रोपाइँ गर्दै फोटो र भिडियो बनाउने प्रवृत्ति भने बढ्दो छ। कृषकको श्रम र उत्पादनसँग जोडिएको असार १५ पछिल्ला वर्षमा सामाजिक सञ्जाल केन्द्रित उत्सव बन्दै गएको टिप्पणी हुन थालेको छ।

असार १५ का अवसरमा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा हिलोमा धान रोपेको, दही–चिउरा खाएको र रमाइलो गरेको तस्बिर तथा भिडियो व्यापक रूपमा सार्वजनिक भएका छन्। तर कृषि गणना–२०७८ अनुसार नेपालका कुल घरपरिवारमध्ये ६२ प्रतिशत मात्र कृषक परिवार रहेका छन्। २०६८ सालको कृषि गणनामा यो संख्या ७१ प्रतिशत थियो। अर्थात् पछिल्लो १० वर्षमा कृषक परिवारको हिस्सा ९ प्रतिशतले घटेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार हाल ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा खेती गरिरहेका छन्। अघिल्लो कृषि गणनाको तुलनामा करिब तीन लाख हेक्टर खेतीयोग्य जमिन कृषि उत्पादनबाट बाहिरिएको छ।

तीव्र सहरीकरण भइरहेको झापालगायत जिल्लामा खेती गर्ने जनशक्ति अभाव हुँदै गएको छ। जग्गाधनी स्वयं खेती गर्न नसक्ने र खेत जोत्ने कामदारसमेत नपाइँदा धेरै जमिन बाँझै रहने अवस्था छ। तर खेती छाडेर सहर बसाइँ सरेका धेरै व्यक्ति भने असार १५ मा हिलोमा रोपाइँको नक्कल गर्दै सामाजिक सञ्जालका लागि तस्बिर र भिडियो बनाउन व्यस्त देखिन्छन्।

यस वर्ष झापामा विभिन्न राजनीतिक दल, संघसंस्था र समूहले पनि दही–चिउरा खाने तथा प्रतीकात्मक रोपाइँ कार्यक्रम आयोजना गरेका थिए। कृषि क्षेत्रसँग सरोकारवालाहरू भने असार १५ लाई केवल उत्सव वा फोटोसेसनमा सीमित नगरी किसानका समस्या, उत्पादन वृद्धि र कृषि संरक्षणबारे बहस गर्ने अवसरका रूपमा मनाउनुपर्ने आवश्यकता औँल्याउँछन्। उनीहरूका अनुसार कृषकको संख्या र खेतीयोग्य जमिन दुवै घटिरहेका बेला धान दिवसको मौलिक उद्देश्यलाई व्यवहारमा उतार्नु अहिलेको प्रमुख चुनौती बनेको छ। प्रतिदिनबाट


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया