अविरल वर्षाले देशका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो र सडक कटान हुँदा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बिहान ६ः३० बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवागमन प्रभावित भएको छ ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ । वर्षाका कारण जोखिम बढेपछि सुरक्षाका लागि आवागमनमा रोक लगाइएको हो ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक सडकसमेत रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो, लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै, रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भू–क्षय तथा पहिरोका कारण घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले पहिरो तथा सडक कटानको जोखिम कायमै रहेकाले यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ ।

 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया