काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानमा लागू हुने इन्धन 'फ्युल सरचार्ज' घटाएको छ।
प्राधिकरणको हवाई यातायात विभागले मंगलबार जारी गरेको परिपत्रअनुसार संशोधित फ्युल सरचार्ज २०८३ साउन १ (१७ जुलाई २०२६) देखि अनिवार्य रूपमा लागू हुनेछ। नयाँ दर कार्यान्वयन नगर्ने वायुसेवा कम्पनीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ।
नेपाल आयल निगमले असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट ४० रुपैयाँ (१४.८७ प्रतिशत) घटाएर २२९ रुपैयाँ कायम गरेपछि सोही आधारमा नयाँ सरचार्ज दर स्वीकृत गरिएको हो।
नयाँ दरअनुसार अधिकांश आन्तरिक गन्तव्यमा फ्युल सरचार्ज उल्लेख्य रूपमा घटेको छ। काठमाडौं–धनगढी रुटमा १,७६५ रुपैयाँ घट्दै सरचार्ज ११ हजार ८८५ रुपैयाँबाट १० हजार १२० रुपैयाँमा झरेको छ। विराटनगर–धनगढीमा २ हजार ५८० रुपैयाँ, जनकपुर–धनगढीमा २ हजार २०० रुपैयाँ, नेपालगञ्ज–भद्रपुरमा २ हजार ३३५ रुपैयाँ, विराटनगर–नेपालगञ्जमा २ हजार १५० रुपैयाँ तथा सिमरा–धनगढीमा २ हजार ३० रुपैयाँ कटौती गरिएको छ।
काठमाडौंबाट सञ्चालन हुने प्रमुख उडानमध्ये माउन्टेन फ्लाइटको फ्युल सरचार्ज ९ हजार २३५ रुपैयाँबाट ७ हजार ८६० रुपैयाँ, भद्रपुर ८ हजार ८०बाट ६ हजार ८७५ रुपैयाँ, विराटनगर ६ हजार ४६०बाट ५ हजार ५०० रुपैयाँ, पोखरा ४ हजार २७०बाट ३ हजार ६३५ रुपैयाँ, नेपालगञ्ज ८ हजार ७७०बाट ७ हजार ४६५ रुपैयाँ, भैरहवा ५ हजार ५४०बाट ४ हजार ७१५ रुपैयाँ, सुर्खेत ९ हजार २९५बाट ७ हजार ९१५ रुपैयाँ र राजविराज ५ हजार ५००बाट ४ हजार ६८५ रुपैयाँ कायम गरिएको छ।
यस्तै पोखरा, भरतपुर, जनकपुर, भैरहवा, विराटनगर, नेपालगञ्ज, भद्रपुर र सिमराबाट सञ्चालन हुने अन्तर–क्षेत्रीय उडानमा पनि ४३० रुपैयाँदेखि २ हजार ५८० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार इन्धनको मूल्यमा आएको कमीको प्रत्यक्ष लाभ यात्रुसम्म पुर्याउने उद्देश्यले संशोधित फ्युल सरचार्ज लागू गरिएको हो।
१८ असार २०८३, बिहिबार ०९:१५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो