डिआइजीसहित १ हजार ८ सय ४८ प्रहरीमाथि विभागीय कारबाही

खगेन्द्र कार्की

इटहरी ।  नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा डिआइजीसहित १ हजार ८ सय ४८ प्रहरीलाई विभागीय कारबाही गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कारबाहीमा प्रहरीका विभिन्न तहका अधिकारी तथा कर्मचारी परेका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार कारबाहीमा पर्नेमा एक डिआइजी, दुई एसएसपी, तीन एसपी, तीन डिएसपी र ३३ इन्सपेक्टर छन्।

त्यस्तै, १७ वरिष्ठ सई, ५२ सई, १३९ असई, ६१ वरिष्ठ हवल्दार, २६२ हवल्दार, ३५६ सहायक हवल्दार, ८६६ जवान र ५३ कार्यालय सहयोगीमाथि पनि विभागीय कारबाही भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार कारबाहीको संख्या प्रहरी संगठनका विभिन्न तहमा कार्यरत जनशक्तिसम्म फैलिएको देखिन्छ। सबैभन्दा धेरै कारबाही जवान तहमा ८६६ जनामाथि भएको छ।

यसैबीच, प्रहरीले सोही अवधिमा १४ हजार ४ सय ६ जना प्रहरीलाई पुरस्कृत गरेको छ। प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले संगठनभित्र राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहनस्वरूप पुरस्कृत गरिएको जानकारी दिए।

एक वर्षको अवधिमा १ हजार २ सय ६४ जना प्रहरीले राजीनामासमेत दिएका छन्।

यसरी हेर्दा गत आर्थिक वर्षमा नेपाल प्रहरीले एकातिर ठूलो संख्यामा प्रहरीलाई विभागीय कारबाही गरेको छ भने अर्कोतर्फ त्यसको तुलनामा निकै ठूलो संख्यामा प्रहरीलाई पुरस्कृत गरेको देखिन्छ।

खगेन्द्र कार्की
प्रतिक्रिया