फ्रान्स–स्पेनमा भीषण डढेलो : तीन लाख विस्थापित, सैन्य क्षेत्रसमेत जोखिममा
zCqnQYsJJSU
१२ साउन २०८३, मङ्गलबार ०७:३७ मा प्रकाशित
549
एजेन्सी । फ्रान्स र स्पेनमा अत्यधिक गर्मीका कारण फैलिएको भीषण डढेलोबाट करिब तीन लाख मानिस विस्थापित भएका छन्। फ्रान्समा दुई लाख र स्पेनमा एक लाखजति मानिस प्रभावित भएका छन्।
बीबीसीका अनुसार फ्रान्सले पछिल्ला दुई दशकयताकै सबैभन्दा भयावह डढेलोको सामना गरिरहेको छ। युरोपका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि आगलागी तीव्र रूपमा फैलिएको हो। फ्रान्सका जिरोन्द र बोर्डक्स क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।
डढेलोले फ्रान्सको प्रसिद्ध वाइन उत्पादन क्षेत्रका साथै संवेदनशील सैन्य क्षेत्रसमेत जोखिममा पारेको छ। ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन केन्द्र र घातक रसायन भण्डारण गरिएका क्षेत्र पनि खतरामा परेका छन्।
चार दिनमै फ्रान्समा करिब ४२० वर्ग किलोमिटर र स्पेनमा ७२० वर्ग किलोमिटर क्षेत्रमा डढेलो फैलिएको छ। फ्रान्समा जलेको क्षेत्रफल पेरिसको क्षेत्रफलभन्दा करिब चार गुणा ठूलो रहेको जनाइएको छ।
आगो नियन्त्रणका लागि दुवै देशले हवाई सवारीसाधन प्रयोग गरिरहेका छन्। फ्रान्समा ६ हजार लिटर क्षमता भएका क्यानेडियर विमानले तालबाट पानी भरेर १२ सेकेन्डभित्र आगलागी प्रभावित क्षेत्रमा खन्याइरहेका छन्। जिरोन्द क्षेत्रमा मात्रै २५ सय जनशक्ति आगो नियन्त्रणमा खटिएका छन्।