विराटनगरमा कम तौलको ग्यास भेटिएपछि उद्योगलाई २ लाख ९० हजार जरिवाना

खगेन्द्र कार्की

विराटनगर । देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएका बेला मोरङको बुधिगंगास्थित कोशी ग्यास उद्योगमा कम तौलका सिलिण्डर भेटिएपछि उद्योगलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ । बजारमा ग्यास नपाएर उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेकै बेला गरिएको अनुगमनमा उद्योगमै कम तौलको ग्यास भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार बुधिगंगा गाउँपालिका–४ स्थित उद्योगमा रहेका १४३ भरिएका सिलिण्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा १३.७४४ किलोमात्र ग्यास भेटिएको थियो । कम तौलको ग्यास बिक्री वितरण गरेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो । बाँकी ६३ सिलिण्डरको हकमा समेत कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा १० वटा खाली सिलिण्डरको तौल परीक्षण गर्दा नौ वटामा तोकिएकोभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौल भेटिएको थियो । प्रशासनले यसबाट उद्योगबाट उत्पादित तथा वितरण गरिएका सिलिण्डरमा कम तौलको ग्यास राखिएको हुनसक्ने जनाएको छ ।

देशका अन्य क्षेत्रमा पनि ग्यास लुकाउने, बढी मूल्यमा बिक्री गर्ने तथा अनावश्यक रूपमा सिलिण्डर भण्डारण गर्ने गतिविधि भेटिएका छन् । बाँकेको नेपालगन्ज–११ मा १३ वटा ग्यास सिलिण्डर लुकाएर राखेको भेटिएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । भक्तपुरको दुवाकोटमा प्रतिसिलिण्डर ७ हजार रुपैयाँसम्ममा ग्यास बिक्री गरेको आरोपमा एक पसल सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकामा पनि बजार अनुगमन तीव्र पारिएको छ । ललितपुर र काठमाडौंका विभिन्न पसललाई कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी रोक्न तथा ग्यास सहज रूपमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।

यता नेपाल आयल निगमले भने ग्यासको आयात नियमित रहेको जनाएको छ । निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । चालु साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ, जुन गत वर्षको सोही अवधिको ४४ हजार ३१८ मेट्रिक टनभन्दा बढी हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार बजारमा ग्यासको अभाव देखिनुको प्रमुख कारणमध्ये उपभोक्ताले एकैपटक बढी ग्यास भरेर राख्नु पनि रहेको छ । होटल तथा रेस्टुराँमा भने नियमित ग्राहकका नाममा ठूलो मात्रामा ग्यास उपलब्ध हुने गरेको अनुगमनमा पाइएको विभागले जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले पनि पर्याप्त आयात भइरहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । संघका अनुसार अनावश्यक रूपमा सिलिण्डर ‘होल्ड’ नगर्ने हो भने बजारमा देखिएको अभाव तत्काल कम हुनसक्छ ।

यसैबीच प्रशासनले ग्यासको तौल, आपूर्ति, भण्डारण र बिक्री वितरणमा अनुगमन बढाएको छ । कम तौलमा बिक्री गर्ने, लुकाएर राख्ने वा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योग तथा व्यवसायीमाथि कारबाही गरिने सम्बन्धित निकायले चेतावनी दिएका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया