गृहमन्त्री गुरुङ १२ घण्टापछि मध्यराति मृतक गणेश यादवको घरमा, परिवारसँग भेटवार्ता

खगेन्द्र कार्की


इटहरी ।  सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको घटनापछि मधेसका विभिन्न जिल्लामा चर्किएको आन्दोलनका बीच गृहमन्त्री सुधन गुरुङ करिब १२ घण्टाको प्रयासपछि मध्यराति सिरहाको औरही गाउँपालिका–२ तुलसियाही पुगेर गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवारसँग भेटवार्ता गरेका छन्।
गृहमन्त्री गुरुङ दिउँसो २ बजे नै मृतकको घर पुग्ने कार्यक्रम रहे पनि सुरक्षा अवस्था र अवरुद्ध सडकका कारण उनी राति करिब ११ः३५ बजे मात्र त्यहाँ पुगेका हुन्। उनी सुनसरीको देवानगञ्ज क्षेत्र हुँदै स्थलमार्गबाट फिल्डमै उत्रिएर सिरहा पुगेको जनाइएको छ।
स्थानीय जनप्रतिनिधिहरूले सर्लाहीमा जारी तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई त्यहाँ नजान आग्रह गरेका थिए। त्यसका बाबजुद गुरुङ प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारसँग भेट गरेका हुन्।
मृतकका परिवारसँगको भेटमा सिरहा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता, क्षेत्र नं. २ का सांसद शिवचन्द्र यादव र क्षेत्र नं. ४ का समानुपातिक सांसद पुरुषोत्तम यादव पनि सहभागी थिए। उनीहरूले परिवारजन तथा स्थानीयसँग घटनाबारे जानकारी लिँदै शान्ति कायम गर्न सहयोग गर्न आग्रह गरेका छन्।
सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको घटनाको विरोधमा सुरु भएको आन्दोलन सुनसरी, सिरहा, धनुषालगायत मधेसका विभिन्न जिल्लामा फैलिएको छ। सोही क्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शन चौथो दिन हिंसात्मक बनेपछि तोडफोड, आगजनी र झडप भएको थियो। उक्त घटनाका क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
सरकारले घटनाको सत्यतथ्य छानबिन र शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल भइरहेको जनाएको छ भने प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया