लहराले संकटमा टीएमजेका गुराँस, संरक्षण अभियान सुरु
फाष्ट मिडिया नेपाल संवाददाता
२१ असार २०८३, अाईतबार ०८:२२ मा प्रकाशित
560
तेह्रथुम। तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पाइने ३२ प्रजातिका गुराँस लहरा र मिचाहा वनस्पतिको बढ्दो फैलावटका कारण संकटमा परेपछि संरक्षण अभियान सुरु गरिएको छ। तेह्रथुमको चैते सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा गुराँसका बोटबाट लहरा र मिचाहा वनस्पति हटाउन थालेको हो। वन प्राविधिकका अनुसार गुराँसका बोटलाई लहराले बेर्दा पातमा पर्याप्त घाम पुग्दैन, जसले प्रकाश संश्लेषण प्रक्रियामा असर पार्छ। यसका कारण बोटको वृद्धि सुस्त हुने, नयाँ पालुवा र फूल फुल्ने क्षमता घट्ने तथा कतिपय रुख अतिरिक्त भारका कारण हाँगा भाँचिएर सुक्न थालेका छन्। अभियानअन्तर्गत गुराँसका बोटमा फैलिएका लहरा काट्ने र मिचाहा प्रजातिका बिरुवा हटाउने काम भइरहेको छ। यसबाट गुराँसका बोटले पर्याप्त घाम, हावा र पोषण पाउने, फूल तथा बीउ उत्पादन बढ्ने र प्राकृतिक रूपमा नयाँ बिरुवा पलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको टीएमजे क्षेत्र विश्वमै दुर्लभ ३२ प्रजातिका गुराँस पाइने क्षेत्रका रूपमा परिचित छ। गुराँस यस क्षेत्रको जैविक विविधता, पर्यटन र स्थानीय पहिचानको प्रमुख आधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राखिएको वन कार्यालयले जनाएको छ। संरक्षणकर्मीका अनुसार गुराँस वनलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न स्थानीय समुदाय, वन कार्यालय र अन्य सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक छ। त्यसो हुन सके दुर्लभ गुराँस सम्पदालाई भावी पुस्तासम्म सुरक्षित राख्न सकिने विश्वास गरिएको छ।