‘धनी हुने मन सबैलाई हुन्छ, तर धनी मान्छे देख्नै नसक्ने हाम्रो समाज बदलिनुपर्छ’

खगेन्द्र कार्की

नेपाली समाजको एउटा विडम्बना धनी हुने मन सबैलाई हुन्छ, तर धनी मान्छे देख्नचाहिँ हामीलाई गाह्रो हुन्छ। सफल हुन चाहन्छौँ, तर सफलता हासिल गर्ने मान्छेलाई सम्मान गर्न हिच्किचाउँछौँ। उद्यम गर्न चाहन्छौँ, तर उद्यमीलाई शंकाको दृष्टिले हेर्छौँ। कर तिर्ने, रोजगारी सिर्जना गर्ने अर्थतन्त्र चलायमान बनाउने मानिसलाई सम्मान नगर्ने हो भने समृद्ध समाजको कल्पना कसरी गर्न सकिन्छ?
मलाई लाग्छ, अब हामीले यही सोच बदल्नुपर्छ।
नेपाली युवा उद्यमी मञ्चको यो विशेष कार्यक्रममा, तपाईंहरूको साधारणसभाको खुला सत्रमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन पाउँदा खुसी छु। राजनीतिमा लागेका हामीलाई मञ्च पाएपछि धेरै कुरा बोल्न मन लाग्छ। तर आजको मञ्च अलि फरक छ। यहाँ बोलेर कन्टेन्ट बनाउनेभन्दा काम गरेर परिणाम सिर्जना गर्ने मानिसहरू हुनुहुन्छ। त्यसैले तपाईंहरूका अगाडि उभिएर बोल्नु मेरो लागि सम्मानसँगै एउटा जिम्मेवारी पनि हो।
चार वर्षअघि चितवन च्याप्टरले मलाई पहिलोपटक अन्तरक्रियाका लागि बोलाएको थियो। त्यतिबेला नयाँ राजनीतिक यात्रामा थिएँ, भोटको लोभ पनि थियो होला। तर आज त्यही यात्राबाट यहाँ आइपुग्दा एउटा फरक हुटहुटी बोकेको मान्छेका रूपमा तपाईंहरूसामु उभिएको छु। तपाईंहरूले गर्ने काम हामीले राजनीतिमा बोल्ने कुराबीच कति ठूलो दूरी रहेछ भन्ने महसुस गर्ने चरणमा पुगेको छु।
हामीले धेरै वाचा गर्‍यौँ। ती वाचा गर्दा तपाईंहरूजस्ता युवा उद्यमी, व्यवसायी रोजगारी सिर्जना गर्नेहरूसँग पर्याप्त छलफल गर्न सकेनौँ। तपाईंहरूसँग बसेर समस्या बुझेर, सम्भावना पहिल्याएर नीति बनाएको भए सायद हाम्रा धेरै वाचा अझ व्यावहारिक हुन्थे, अझ प्रभावकारी ढङ्गले पूरा गर्न सकिन्थ्यो।
तर अब समय बदलिएको छ।
आज तपाईंहरूलाई कुनै राजनीतिक प्रशंसा गरेर खुसी पार्न आएको होइन। राजनीतिज्ञहरू जुनसुकै कार्यक्रममा गएर त्यहाँ उपस्थित भीडको प्रशंसा गर्ने ताली पाएर फर्कने एउटा परम्परा छ। त्यो होडमा छैन। तपाईंहरूलाई इमानदारीका साथ एउटा कुरा भन्न आएको छुयो देशमा सम्भावना छ। अवश्य छ।
त्यो सम्भावना हामी राजनीतिज्ञले प्रमाणित गरेका होइनौँ। तपाईंहरूले प्रमाणित गर्नुभएको हो।
देशमा सम्भावना छैन भन्दै धेरै प्रतिभाशाली युवा विदेश गइरहेका बेला तपाईंहरूले १५ वटा च्याप्टर निर्माण गर्नुभएको छ। युवा उद्यमीहरूलाई एउटै मञ्चमा जोड्नुभएको छ। रोजगारी सिर्जना गर्नुभएको छ। नयाँ व्यवसाय खडा गर्नुभएको छ। देशमै बसेर केही गर्न सकिन्छ भन्ने आशा जगाउनुभएको छ।
त्यसैले परिवर्तनको पहिलो हकदार पनि तपाईंहरू नै हो।
आज हाम्रो राजनीतिक संरचनामा ४० वर्षभन्दा कम उमेरका धेरै युवा प्रतिनिधिहरूको उपस्थिति छ। यो संयोग मात्र होइन। यो तपाईंहरूले दिएको आशा, विश्वास मतको परिणाम हो। त्यसैले सरकारमा पनि तपाईंहरूको हक सायद हामीभन्दा धेरै ठूलो हक।
यहाँ बसेका धेरै उद्यमीको तुलनामा कम कर तिर्ने व्यक्ति हुँ। तर तपाईंहरूले मलाई प्रमुख अतिथिका रूपमा सम्मान गर्नुभएको छ। त्यसका लागि आभारी छु। तर एउटा कुरा स्पष्ट भन्न चाहन्छुवास्तविक सम्मानको हकदार करदाता रोजगारीदाता हो।
जुन समाजमा कर तिर्ने मानिसको सम्मान हुँदैन, रोजगारी दिने मानिसलाई सम्मान गरिँदैन, त्यो समाजले आफ्नो आर्थिक संस्कारमाथि गम्भीर प्रश्न गर्नुपर्छ।
हामीकहाँ समस्या के भने सबैलाई धनी बन्न मन लाग्छ, तर धनी भएको मान्छेलाई देख्न मन लाग्दैन। यो दोहोरो चरित्र अब चल्दैन। उद्यमी सफल हुँदा समाज खुसी हुनुपर्छ। व्यवसाय बढ्दा रोजगारी बढ्छ, रोजगारी बढ्दा परिवारको आय बढ्छ, आय बढ्दा बजार चल्छ बजार चलेपछि राज्यको राजस्व बढ्छ।
त्यसैले निजी क्षेत्रलाई शंकाको आँखाले होइन, विकासको साझेदारका रूपमा हेर्नुपर्छ।
तपाईंहरूलाई अर्को कुरा पनि स्पष्ट रूपमा भन्न चाहन्छुव्यापार व्यवसाय गर्न कुनै नेताको संरक्षण खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। मेरो नेतृत्वमा रहेको पार्टीलाई तपाईंहरूले व्यापार चलाउनका लागि चन्दा दिनुपर्ने छैन। कुनै नेता चिन्नुपर्ने, कुनै मन्त्रीको आफन्त हुनुपर्ने, कुनै दलको संरक्षण खोज्नुपर्ने बाध्यता हुनुहुँदैन।
तपाईंहरूको संरक्षण कुनै व्यक्ति वा नेताले होइन, राज्यको नीति कानुनले गर्नुपर्छ।
व्यवसाय गर्दा कसैले गल्ती गरेको भने त्यसलाई कानुनी प्रक्रियाबाट हेर्नुपर्छ। आर्थिक प्रकृतिको गल्तीलाई आर्थिक अपराधकै दृष्टिकोणबाट सम्बोधन गर्नुपर्छ। उद्यमीलाई बिहान उठ्दाआज पक्राउ परिन्छ कि भोलि?’ भन्ने डरमा व्यवसाय गर्न बाध्य पारेर देशको अर्थतन्त्र बलियो हुँदैन।
हामीलाई निजी क्षेत्र चाहिन्छ। उद्यमी चाहिन्छ। लगानी चाहिन्छ। रोजगारी सिर्जना गर्ने मानिस चाहिन्छ।
त्यसैले तपाईंहरूलाई आग्रह गर्छुहामीलाई एउटापोलिसी समिटदिनुस्।
इन्भेस्टमेन्ट समिट मात्रै होइन, पोलिसी समिट गरौँ। तपाईंहरूलाई कहाँ समस्या ? कुन मन्त्रालयमा धाउनुपर्छ? कुन कानुनले रोक्छ? कहाँ नीतिगत खाडल ? कहाँ राज्यले तपाईंलाई चिन्न सकेको छैन? कहाँ अनावश्यक झन्झट ? सबै कुरा स्पष्ट रूपमा लेखेर दिनुस्।
एक पृष्ठमा अट्छ भने एक पृष्ठमै दिनुस्के परिवर्तन गर्ने, किन परिवर्तन गर्ने त्यसले के परिणाम दिन्छ।
हामी छलफल गर्छौँ। संसद्मा छलफल गर्छौँ। नीति निर्माणको तहमा छलफल गर्छौँ। आवश्यक परे कानुन बनाउने साथीहरूलाई तपाईंहरूसँग एउटै टेबलमा बसाउँछौँ।
भन्छु, तपाईंहरूको अर्को कार्यक्रममा जस्ता राजनीतिज्ञलाई प्रमुख अतिथि बोलाउनै पर्दैन। सबैभन्दा धेरै कर तिर्ने उद्यमीलाई बोलाउनुस्। सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने उद्यमीलाई सम्मान गर्नुस्। समाजले सफलतालाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ।
हामीले चारपाँच महिनामै सबै कुरा परिवर्तन गरिसक्छौँ भन्ने दाबी गर्न सकिँदैन। परिवर्तनको सुरुवाती चरणमा धेरै कुरा मिलाउनुपर्ने हुन्छ। अहिले तपाईंहरूलाई बाहिरबाट हेर्दासंरचना कहाँ ?’ जस्तो लाग्न सक्छ। तर हामी अहिले जग खनिरहेका छौँ।
जग खन्दा घर देखिँदैन। तर बलियो घरका लागि बलियो जग आवश्यक हुन्छ।
त्यसैले राजनीतिक उतारचढाव, आलोचना वा सामाजिक सञ्जालका हल्लाबाट तपाईंहरू आत्तिनु पर्दैन। कहिलेकाहीँ यात्रामा टर्बुलेन्स आउँछ। जहाज हल्लिन्छ भन्दैमा जहाज दुर्घटनामा पर्छ भन्ने हुँदैन।
Sit back and relax. Fasten your seat belt.
हामी यो यात्रालाई गन्तव्यसम्म पुर्‍याउने प्रयासमा छौँ।
व्यक्तिगत रूपमा हार्न सक्छु। कुनै व्यक्ति हार्नु ठूलो कुरा होइन। तर सिङ्गो पुस्ताको सपना हार्नु हुँदैन। इतिहासले कुनै देशलाई यस्तो अवसर बारम्बार दिँदैन। आज हामीले पाएको अवसरलाई गुमाउने छुट हामीलाई छैन।
हामी दुई ठूला अर्थतन्त्रका बीचमा छौँ। हाम्रो जमिन उर्वर छ। हाम्रो जनशक्ति युवा छ। काम गर्न सक्ने क्षमता छ। सोच्न सक्ने क्षमता छ। मेहनत गर्ने इच्छा छ।
त्यसैले हामी गरिब भएर बसिरहनुपर्ने कुनै बाध्यता छैन।
हामीले विगतलाई दोष दिएर उम्किने होइन। हिजोका चुनौती फरक थिए। राजनीतिक परिवर्तन, संविधान निर्माण संक्रमणका आफ्नै बाध्यता थिए। अब परिस्थिति फेरिएको छ। अब बल हाम्रो कोर्टमा आएको छ।
त्यसैले दोषी खोज्ने होइन, समस्या खोज्ने हो। समस्या भेटेपछि समाधान गर्ने हो।
युवा उद्यमीहरूलाई यहीँबाट भन्न चाहन्छुआत्तिनु पर्दैन। यो देशमा सम्भावना छ।
तपाईंहरू सिर्जना गर्नुस्, हामी वातावरण बनाउने प्रयास गर्छौँ। तपाईंहरू रोजगारी सिर्जना गर्नुस्, हामी नीतिगत अवरोध हटाउने प्रयास गर्छौँ। तपाईंहरू व्यवसाय बढाउनुस्, हामी राज्यलाई तपाईंहरूको साझेदार बनाउने प्रयास गर्छौँ।
हामीले एकअर्कालाई होइन, इतिहासलाई वाचा गरेका छौँ।
आउने पुस्तालाई वाचा गरेका छौँ।
त्यसैले यो यात्रा रोकिँदैन। बाटोमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्य बदलिँदैन।
यो सरकार हाम्रो मात्र होइनतपाईंहरूको पनि हो। यो परिवर्तनको वास्तविक शक्ति राजनीतिमा होइन, सिर्जना गर्ने तपाईंहरूको हातमा छ।
 

खगेन्द्र कार्की
प्रतिक्रिया