इनरुवा । नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गाउँपालिकामा भएको गोलीकाण्डका पीडित परिवारसँग सरकारले गरेको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ।
कांग्रेस सुनसरीले प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र पठाएको हो। जिल्ला सभापति केदार भण्डारीलगायत नेताले हस्ताक्षर गरेको ज्ञापनपत्रमा घटनापछि मृतकका परिवार र घाइतेसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।
कांग्रेस जिल्ला सचिव वीरेन्द्रकुमार साहका अनुसार गत साउन १० गते राति करिब १० बजे देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जस्थित नयाँ हटियामा भएको गोलीकाण्डका विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरिएको हो।
ज्ञापनपत्रमा उक्त घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको उल्लेख छ। घटनापछि भएको आन्दोलनका क्रममा सिराहाको गोलबजारका गणेश यादवको समेत गोली लागेर मृत्यु भएको कांग्रेसले जनाएको छ।
कांग्रेसले राज्यका गृहमन्त्रीको उपस्थितिमा मृतकका परिवार तथा घाइतेसँग भएको सहमति कार्यान्वयन नहुनु दुःखद भएको जनाएको छ। घटनामा नागरिकको ज्यान गएको विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने उसको माग छ।
पार्टीले गृहमन्त्री र पीडित परिवारबीच भएको सम्झौता तत्काल कार्यान्वयन गर्न, घटनाको छानबिनका लागि न्यायिक समिति वा आयोग गठन गर्न तथा घाइतेहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छ।
त्यसैगरी घाइतेको सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था गर्न, घटनाबाट प्रभावित नागरिक तथा व्यवसायीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र जिल्लामा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न प्रभावकारी व्यवस्था मिलाउन कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
ज्ञापनपत्र बुझाउँदै कांग्रेसले आफ्ना माग तीन दिनभित्र कार्यान्वयन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने कांग्रेस सुनसरीको भनाइ छ।
ज्ञापनपत्रमा जिल्ला सभापति भण्डारीसहित क्षेत्रीय सभापति, महासमिति सदस्य, प्रदेशसभा सभापति, नगर सभापति तथा प्रदेश प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो