पहिलो पटक विश्वकप टेकेको केप भर्डे र बेल्जियम विश्वकपको नकआउट चरणमा

Nathanael

एजेन्सी । फिफा विश्वकप फुटबल २०२६ मा पहिलो पटक सहभागी भएको केप भर्डे समूह एचको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ भने बेल्जियम समूह जीको विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ।

अमेरिकाको ह्युस्टन रंगशालामा शुक्रबार बिहान भएको समूह एचको अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डेले तीन खेलबाट तीन अंक जोड्दै अन्तिम ३२ मा स्थान सुरक्षित ग¥यो। प्रतियोगितामा पहिलो पटक सहभागी केप भर्डेले समूह चरणका तीनवटै खेल बराबरीमा टुङ्ग्याएको थियो। यसअघि उसले स्पेन र उरुग्वेसँग पनि अंक बाँडेको थियो। यस नतिजासँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

यता, क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको समूह जीको खेलमा बेल्जियमले न्युजिल्याण्डलाई ५–१ गोलले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा स्थान बनायो।

बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस साएलेमाकर्सले एक–एक गोल थपे। न्युजिल्याण्डका इलाइजाह जस्टले सान्त्वना गोल फर्काएका थिए।

ट्रोसार्डले २८औँ र ५०औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। त्यसपछि ६६औँ मिनेटमा डे ब्रुएनाले गोल थपे। ८४औँ मिनेटमा इलाइजाह जस्टले गोल फर्काए पनि त्यसपछि लुकाकु र इन्जुरी समयमा साएलेमाकर्सले गोल गर्दै बेल्जियमलाई ५–१ को सहज जित दिलाए।

Nathanael
प्रतिक्रिया