काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रशासन, शिक्षा, स्वास्थ्य, सुशासन तथा मानव अधिकारसँग सम्बन्धित आठ वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकका निर्णय सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गरिएको छ।स्वास्थ्य क्षेत्रतर्फ कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ। सरकारका अनुसार यस निर्णयले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।शिक्षा क्षेत्रको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मन्त्रिपरिषद्ले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ। यी नियमावलीमार्फत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्था, शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा तयारी कक्षाको सञ्चालन र नियमनलाई कानुनी आधार प्रदान गर्ने सरकारको अपेक्षा छ।त्यसैगरी, बैठकले कारागार नियमावली, २०८३ स्वीकृत गर्दै कारागार व्यवस्थापनलाई समयानुकूल र व्यवस्थित बनाउने निर्णय गरेको छ।सुशासन र मानव अधिकार प्रवर्द्धनका क्षेत्रमा सरकारले मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ। साथै, भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) पनि स्वीकृत गरिएको छ।सरकारका प्रवक्ता पोखरेलका अनुसार बैठकका निर्णयहरू प्रशासनिक सुधार, शिक्षा क्षेत्रको नियमन, स्वास्थ्य सेवा विस्तार, सुशासन प्रवर्द्धन तथा मानव अधिकार संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो।
२४ असार २०८३, बुधबार ०७:१७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो