इटहरी । राष्ट्रिय धान दिवस मनाइरहँदा कोशी प्रदेशमा पर्याप्त वर्षा, रासायनिक मल र सिँचाइ सुविधाको अभावका कारण धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। कृषि विकास निर्देशनालयका अनुसार असार १२ गतेसम्म प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफलको १५.३३ प्रतिशतमा मात्र धान रोपाइँ सम्पन्न भएको छ।प्रदेशको मुख्य धान उत्पादन क्षेत्र झापा, मोरङ र सुनसरीमा रोपाइँको अवस्था झन् कमजोर देखिएको छ। तीन जिल्लाको एक लाख ९३ हजार २८५.१८ हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म २२ हजार २९९.५५ हेक्टर अर्थात् ११.५४ प्रतिशतमा मात्र रोपाइँ भएको छ। सबैभन्दा बढी धान उत्पादन हुने झापामा ७५ हजार ४५९.१८ हेक्टरमध्ये ६.१३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सकिएको छ भने मोरङ र सुनसरीमा करिब १५ प्रतिशतका दरले रोपाइँ भएको कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्शकुमार सिंहले जानकारी दिए।कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार उच्च पहाडी जिल्लाहरू ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा १५ हजार ३८३.९६ हेक्टर खेतीयोग्य जमिनमध्ये १ हजार ६७८.८८ हेक्टर अर्थात् १०.९१ प्रतिशतमा मात्रै रोपाइँ भएको छ। पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ समेटिएको मध्य पहाडी क्षेत्रमा भने ६७ हजार ७१७.५८ हेक्टरमध्ये १८ हजार ३७९.५४ हेक्टर अर्थात् २७.१४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।यस वर्ष रोपाइँमा ढिलाइ हुनुको मुख्य कारण पर्याप्त वर्षा नहुनु र रासायनिक मलको अभाव रहेको किसानले बताएका छन्। प्रदेशभर वार्षिक रूपमा एक लाख ३८ हजार ३३५ मेट्रिक टन युरिया आवश्यक पर्ने भए पनि हाल १० हजार २५९.६५ मेट्रिक टन मात्र मौज्दात रहेको छ। त्यस्तै ७७ हजार ३१५ मेट्रिक टन डीएपी आवश्यक पर्नेमा एक हजार ४१७.६ मेट्रिक टन र ४८ हजार ८७२ मेट्रिक टन पोटास आवश्यक पर्ने प्रदेशमा तीन हजार २२.८ मेट्रिक टन मात्र मौज्दात रहेको कृषि विकास निर्देशनालयको तथ्याङ्कले देखाएको छ।कृषि क्षेत्रका सरोकारवालाहरूका अनुसार मुख्य रोपाइँ सिजनमै मल, सिँचाइ र वर्षाको अभाव कायम रहे यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने सम्भावना छ। उत्पादन वृद्धि र कृषि आत्मनिर्भरताका सरकारी लक्ष्य घोषणा भए पनि किसानले हरेक वर्ष उस्तै समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।गत वर्ष असार १२ गतेसम्म प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइँ भएको थियो। यस वर्षको प्रगति केही बढी देखिए पनि रोपाइँको मुख्य समयमा अपेक्षाअनुसार काम हुन नसकेको कृषि अधिकारीहरूको भनाइ छ।असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा देशभर रोपाइँसँगै उत्सव मनाइरहँदा कोशी प्रदेशका धेरै किसान भने खेतमा पानी, मल र सिँचाइको प्रतीक्षामै छन्। समयमै आवश्यक कृषि सामग्री र अनुकूल मौसम नआए यस वर्षको धान उत्पादन लक्ष्य प्रभावित हुने चिन्ता किसानले व्यक्त गरेका छन्।
१५ असार २०८३, सोमबार ०४:५९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो