लगातार वर्षाले पश्चिम नेपालमा पहिरोको कहर, रोल्पामा पाँच दिनमै १८ जनाको मृत्यु

खगेन्द्र कार्की

विराटनगर । अविरल वर्षासँगै आएको पहिरोले पश्चिम नेपालका पहाडी जिल्लामा मानवीय तथा भौतिक क्षति बढाउँदै लगेको छ। पछिल्ला पाँच दिनमा मात्रै रोल्पामा पहिरोमा परी १८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १० जना घाइते भएका छन्। जाजरकोटमा तीन जना अझै सम्पर्कविहीन छन्। यसैबीच बागलुङ र रुकुमपश्चिममा पनि पहिरोले घर तथा संरचनामा क्षति पुर्‍याउनुका साथै दर्जनौँ परिवारलाई उच्च जोखिममा पारेको छ।
रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा मंगलबार राति घरमाथिबाट पहिरो खस्दा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा पहिरोले घर पुरेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घटनापछि प्रहरीले खोज तथा उद्धार गरी शव फेला पारेको थियो।
यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। उक्त घटनामा एक जना अझै बेपत्ता छन्। पहिरोमा घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ। बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा थप चार जनाको मृत्यु भएको थियो।
यसरी केही दिनकै अवधिमा रोल्पामा पहिरोबाट ठूलो मानवीय क्षति भएको हो। लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ। पहाडी भूभागमा जमिन गलिसकेको र वर्षा अझै जारी रहेकाले थप पहिरो तथा जनधनको क्षतिको जोखिम कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ।
उता जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन्। पहिरोमा परी तीन जना सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित करिब ५० जनाको टोली उद्धारमा परिचालन गरिएको छ। घाइतेमध्ये ६० वर्षीय रामबहादुर शाही, ५२ वर्षीय केदार कार्कीलगायतलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। अन्य घाइतेको जाजरकोट जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगामाटोले बनेको दुईतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरमा रहेका पाँच जना आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही क्षेत्रमा भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
यता पश्चिम बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले आठ घर उच्च जोखिममा पारेको छ। दर्लिङखोलाका विभिन्न स्थानमा खसेको पहिरोका कारण खहरे र बलघाँस गाउँका घरहरू जोखिममा परेका हुन्। वडाका विभिन्न बस्ती जोड्ने ग्रामीण सडकमा पहिरो खस्दा १५ घर जोखिममा परेको र तीमध्ये आठ घर उच्च जोखिममा रहेको वडाध्यक्ष कृष्ण केसीले जानकारी दिएका छन्।
निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने त्रास बढेपछि खहरे र बलघाँसका १० घरपरिवार आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन्। मने क्षेत्री, बक्सिङ कामी, माया विक, रामप्रसाद न्यौपाने, बासमती दमाईं, खिमे दमाईं, आनन्द केसी र सुनिता विकका घर उच्च जोखिममा रहेको वडा सदस्य लालबहादुर छन्त्यालले बताए।
जोखिममा परेकी सुनिता विकका अनुसार घरमा बस्नै नसक्ने गरी क्षति पुगेपछि परिवारले छिमेकीको सहारा लिनुपरेको छ। गत वर्षको पहिरोबाट समेत क्षति पुगेको घर मर्मत गर्न नपाउँदै पुनः पहिरोको सामना गर्नुपरेको उनको गुनासो छ। घरमा बूढी सासूआमा, साना दुई छोरासहित परिवार रहे पनि रात बिताउन छिमेकीको शरण लिनुपरेको उनले बताइन्।
पहिरोले घरमा क्षति पुर्‍याए पनि अहिलेसम्म पर्याप्त राहत नपाएको उनको गुनासो छ। स्थानीय तह र प्रहरीसँग समन्वय गरी राहत तथा जोखिम न्यूनीकरणका काम अघि बढाइरहेको वडाध्यक्ष केसीले बताएका छन्।
पहिरोले दर्लिङखोलाका मुख्य सडकसमेत अवरुद्ध भएका छन्। सडकका विभिन्न स्थानमा पहिरो खसेको तथा दर्लिङखोला घाटसमेत क्षतिग्रस्त भएपछि सवारी आवागमन प्रभावित भएको छ। मध्यपहाडी लोकमार्गबाट वडा नम्बर ९ हुँदै वडा नम्बर १० दर्लिङ जोड्ने सडक तथा छिपछिपे–उपल्लाचौर–राखिचौर हुँदै गुल्मी जोड्ने सडकमा समेत ठूलो क्षति पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
दर्लिङखोला घाटमा सानो मेसिनबाट पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले ठूलो मेसिन व्यवस्थापन गर्नुपर्ने भएको छ। यसले सडक सञ्चालनमा थप समय लाग्ने देखिएको छ।
पहिरोका कारण शैक्षिक संरचनासमेत जोखिममा परेका छन्। नवजागरण प्राथमिक विद्यालयको कम्पाउन्ड पर्खालमा क्षति पुगेको छ भने बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित भिरकटेरी प्राथमिक विद्यालयको पर्खाल भत्किएपछि विद्यालयसमेत जोखिममा परेको स्थानीयले बताएका छन्। यसअघि २०८१ सालको साउनमा पनि बडिगाड–९ दर्लिङखोला र वडा नम्बर १० दर्लिङमा भीषण पहिरो जाँदा मानवीय तथा करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो।
रुकुमपश्चिममा पनि पहिरोले करोडौँ मूल्यका संरचना तथा उपकरणमा क्षति पुर्‍याएको छ। मुसिकोट नगरपालिका–५ सेरीगाउँमा आइतबार दिउँसो गएको पहिरोले स्थानीय धनबहादुर विकले सञ्चालन गरेको युग इन्जिनियरिङ वर्कसप पुरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यपहाडी राजमार्ग छेउमा सञ्चालन गरिएको वर्कसप र मर्मतका लागि ल्याएर पार्किङ गरिएका सवारी तथा निर्माण उपकरणमा पहिरोले क्षति पुर्‍याएको छ।
वर्कसपमाथिबाट खसेको पहिरोले धनबहादुरको एकतले जस्तापाता र फलामबाट बनेको ट्रस्ट भवनमा क्षति पुर्‍याएको छ। ग्यारेजभित्र रहेका विभिन्न सामग्रीसमेत पहिरोमा पुरिएका छन्। स्थानीय पदम केसीका रा १ त ३७३६ र रा १ त ३६१७ नम्बरका दुईवटा ट्र्याक्टर पहिरोले च्यापिएका छन्। प्रविन डाँगीको बा १ क २५०६ नम्बरको रोलर, मिक्सर तथा स्काभेटरका दुईवटा बकेटसमेत पहिरोमा पुरिएका छन्।
पहिरोका कारण सेरीगाउँको नयाँबस्तीसमेत उच्च जोखिममा परेको छ। त्यहाँका बनिता मल्ल, हरिबहादुर सुनार र हेमबहादुर पाण्डेका घर उच्च जोखिममा रहेका छन्। बनिताको दुईतले आठकोठे पक्की घर, हरिबहादुरको एकतले दुईकोठे टिनले छाएको घर तथा हेमबहादुरको दुईतले छकोठे टिनले छाएको घर पहिरोको जोखिममा छन्।
नयाँबस्तीमा करिब १५ घर रहेका छन्। जोखिममा रहेका घरबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तथा घरभित्र रहेका सामान सुरक्षित ठाउँमा लैजाने काम भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाले पहाडी जिल्लामा सडक, बस्ती, विद्यालय तथा निजी संरचनामाथिको जोखिम झन् बढाएको छ। कतिपय स्थानमा सडक अवरुद्ध हुँदा उद्धार तथा राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ। वर्षा नरोकिएसम्म पहिरोको जोखिम कायमै रहने भएकाले स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
पश्चिम नेपालका रोल्पा, जाजरकोट, बागलुङ र रुकुमपश्चिमका पछिल्ला घटनाले पहिरोको जोखिम केवल घर र सडकमा सीमित नरहेको देखाएको छ। बस्तीको भौगोलिक अवस्था, कमजोर संरचना, अवरुद्ध सडक र निरन्तरको वर्षाका कारण मानवीय क्षति अझ बढ्न सक्ने अवस्था छ। त्यसैले जोखिमयुक्त बस्तीको तत्काल पहिचान, सुरक्षित स्थानमा स्थानान्तरण, सडक खुलाउने उपकरणको तयारी तथा उद्धार टोलीलाई आवश्यक साधनसहित परिचालन गर्नु अहिलेको प्राथमिकता बनेको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया