गत २४ घण्टाका देशभरका खबरको संक्षेपीकरण (संक्षेप)

खगेन्द्र कार्की

देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसाधन
देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ । चालु आवको फागुन मसान्तसम्म मात्रै दुई लाख ८१ हजार ९२१ वटा सवारीसाधन दर्ता भएका थिए । दर्ता भएका सवारीसाधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल छन् ।
यसैगरी, फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ । त्यसमध्ये चालु आवको आठ महिनासम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी भएको छ । चालु आवको प्रथम आठ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । तीमध्ये पाँच हजार १८६ थान जडान गरिएको छ । गत फागुन मसान्तसम्म कुल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३४० थान जडान भएका छन् । इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको छ ।
प्रचण्ड अस्पतालमै रहने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डलाई अझै एकदुई दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
स्वास्थ्य समस्या देखिएपछि उनलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । आचार्यका अनुसार दाहाललाई अस्पतालमै राख्नुपर्ने सुझाव उपचारमा संलग्न चिकित्सकहरूले दिएका छन् । विगत केही दिनदेखि अस्वस्थ रहेका प्रचण्डलाई अलिक गाह्रो भएपछि शनिबार बिहान अस्पतालमा भर्ना गरिएको हो । 
२० हजार ५ सयले बढ्यो सुन
सरकारले शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पु¥याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।
बजेटमा घोषित भन्सार दर भोलिपल्टबाटै लागु हुने र सोअनुसार महासंघले मूल्य समायोजन गरेको उनले जनाए । २० हजार ५ सय रुपैयाँ प्रतितोला मूल्य बढेसँगै आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै, आईतबार चाँदी प्रतितोला ५ हजार ३४५ रूपैयाँ मूल्यमा कारोबार भएको संघले जनाएको छ ।
च्याउ खाँदा परिवारनै विरामी
मोरङको उर्लाबारीमा च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । बिरामीमा पर्नेमा दुई जना बालक रहेका छन् । उर्लाबारी नगरपालिका–४ आइतबारेका ३६ वर्षीय भूमिराज उराउ, उनकी पत्नी ३२ वर्षीया रामकुमारी उराउ तथा छोराहरु १४ वर्षीय अर्विन उराउ र ८ वर्षीय अरुण उराउ बिरामी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उराउ परिवारले आइतबार बिहान आफ्नै बारीमो परालमा उम्रिएको सेतो रंगको च्याउको तरकारी खाएका थिए ।
बिरामी परेकामध्ये ८ वर्षीय अरुणको अवस्था गम्भीर रहेको छ । अरुको अवस्था सामान्य छ । बिरामी परेका सबै जनाको उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनाका बारेमा थप बुझ्ने काम गरिरहेको छ । प्रहरीले जथाभावी उम्रिएका च्याउको तरकारी नखान सबैमा आग्रह गरेको छ ।
दुर्घटनामा चालकको मृत्यु
सूर्योदय नगरपालिका–४ मा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतवार मध्यान्ह करिब १२ बजे खड्का गाउँको भित्री सडकबाट बमजम डाँडातर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि फिक्कल अस्पताल लगिएकोमा दिउँसो १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, सहचालक सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाईबा घाइते भई श्रीनिधि अस्पताल फिक्कलमा उपचाररत छन् । दुर्घटनामा घाइते भएका सोही स्थानका ४३ वर्षीय विशाल थुलुङ राईलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, झापा पठाइएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । आज बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको हो ।
यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस गरेकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो १ः १५ बजे बस्ने राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।
बुबाले गरे छोराको हत्या
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१५ मा ६३ वर्षीय बुवाले गरे ४३ वर्षीय छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार घरायसी विवाद हुँदा बुवाले धारिलो हतियार प्रहार गरी छोरोको हत्या गरेका छन् । सो वडाको चिन्तामणी टोलका ६३ वर्षीय डम्मर गिरीले ४३ वर्षीय छोरा शंकरमाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।
बिमानमै मृत्यु
अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो । अचेत भएर उनको मृत्यु भएको हुन सक्ने विमानस्थल सुरक्षा कार्यालयका एसएसपी वसन्त रजौरेले बताए । टर्किस एयरको उडा नम्बर–७२६ नम्बरको विमानमा मरहठ्ठा परिवारसँगै फर्केका थिए । उनी गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ का स्थानीय हुन् ।
प्रहरीको नयाँ भवन
मोरङको ग्रामथान गाउँपालिका–५ तेतरियामा प्रहरीको नयाँ भवन निर्माण गरिएको छ । प्रहरी चौकी तेतरियाको नवनिर्मित भवनको आइतबार बिहान उद्घाटन गरिएको हो ।  गाउँपालिका अध्यक्ष नमोनारायण माझीको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो । भवन उद्घाटन कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । एसपी कटवालले नयाँ भवन निर्माण भएपछि प्रहरीलाई काम कारबाहीमा सजिलो हुने बताए ।
ठगीको आरोपमा एक महिला पक्राउ
थाइल्याण्डमा पक्राउ परी ललितपुर प्रहरीमा बुझाइएकी टिकटकर तुलसी अधिकारीलाई सोमबार जिल्ला अदालतमा पेश गरिँदैछ । उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दाको पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रूपैयाँ ठगी मुद्दा दर्ता भएको छ । चिमोरियाले २०८२ साउन २४ गते प्रहरीमा जाहेरी 
दिएका थिए । जाहेरी दर्ता भएपछि उनी फरार भइन् । पहिला चीनका विभिन्न भागमा रहेको सूचना पाएपछि प्रहरीले डिफ्युजन नोटिस (रेडकर्नर) जारी गरेको थियो । चीनबाट भागेर थाइल्याण्ड पुगेकी उनलाई अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहायतामा त्यहीँबाट पक्राउ गरिएको हो ।
व्यवसायी चिमोरियासँग उनको विवाहेत्तर सम्बन्ध थियो । आपसी सम्बन्ध बिग्रिएपछि जबरजस्ती करणीमा मुद्दामा फसाइदिने भनी धम्क्याउने गरेकी थिइन् । त्यसरी धम्क्याउँदै पटक पटक पैसा र गरगहना लिएको प्रहरी अनुसन्धानबाट खुल्ने अनुसन्धानरत एक प्रहरीले बताए ।
लेक लागेर १३ पर्यटकको मृत्यु
पर्वतीय उच्च उचाइ (हाइअल्टिच्युड) का कारण लेक लागेर चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मुस्ताङमा नौ विदेशीसहित १३ पर्यटकको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका धार्मिक पर्यटकहरू उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीका कारण बिरामी परेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मृत्यु हुनेमध्ये चार नेपाली र नौ विदेशी नागरिक छन्। नेपालीतर्फ तीन पुरुष र एक महिला तथा विदेशीतर्फ सात पुरुष र दुई महिला रहेका छन्। सबै पर्यटक वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको क्षेत्रमा लेक लागेर बिरामी भएका थिए। उनीहरूको प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा आठको मृत्यु
पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ३८ यात्रु र तीन चालकदल सदस्य बोकेको बस इज्मिर शहरबाट भूमध्यसागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै थियो ।
यात्रा क्रममा डेनिज्ली प्रान्तस्थित डेनिज्ली–आयदिन राजमार्गमा बस अनियन्त्रित भई सडक किनारको सुरक्षा बारमा ठोक्किएको थियो ।
दुर्घटनापछि बसमा आगलागीसमेत भएको बताइएको छ। मृतकमध्ये बस चालक र नौ महिनाको एक शिशु पनि रहेका छन् ।
दुर्घटनामा घाइते भएका ३३ जनालाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको अधिकारीहरूले बताएका छन् ।
टर्कीमा पछिल्ला वर्षहरूमा सडक सुरक्षा सुधारका प्रयास भए पनि तीव्र गति, चालकको थकान तथा प्राविधिक समस्याका कारण यस्ता दुर्घटनाहरू समय–समयमा हुने गरेका छन् । यस घटनाले पुनः सडक सुरक्षाप्रति ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
पूर्वतर्फका सार्वजनिक बसमा जीपीएस र सीसी क्यामरा अनिवार्य
काठमाडौँबाट पूर्वी क्षेत्रतर्फ सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामरा जडान गरिएको छ । यात्रु सुरक्षालाई ध्यानमा राख्दै अनलाइन टिकट प्रणालीसमेत लागू गरिएको छ ।
सरकारले सबै सार्वजनिक सवारीमा जीपीएस र सीसी क्यामरा अनिवार्य गर्ने तयारी गरिरहेकै बेला पूर्व यातायात व्यवस्थापन प्रालिले नयाँ बसपार्कबाट सञ्चालन हुने बसहरूमा यो प्रणाली लागू गरेको हो । प्रालिका अनुसार ८१ वटा बसमा जीपीएस र सीसी क्यामरा जडान भइसकेको छ ।
यी बसहरू तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काँकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, इलाम, गाईघाट, जनकपुर, वीरगञ्ज लगायत विभिन्न पूर्वी गन्तव्यमा सञ्चालन हुँदै आएका छन्। यात्रु व्यवस्थापनलाई व्यवस्थित बनाउन यी सबै सवारी साधनलाई एउटै कम्पनीमार्फत सञ्चालन गरिएको हो ।
कम्पनीका अध्यक्ष रजन रोक्काका अनुसार सवारी ट्र्याकिङ, सुरक्षा निगरानी र सेवा सुधारका लागि जीपीएस र सीसी क्यामरा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कम्पनीले यात्रु सेवामा थप सुधार गर्दै चाँडै ‘लगेज ट्याग’ प्रणाली पनि लागू गर्ने तयारी गरेको जनाएको छ । त्यस्तै, यात्रुको सहजताका लागि अनलाइन टिकट बुकिङ प्रणाली पहिल्यैदेखि सञ्चालनमा ल्याइएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया