दमक । दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले वर्तमान संविधानको व्यवस्थाका कारण क्षेत्री–बाहुन समुदाय दोस्रो दर्जाको नागरिकसरह बन्न पुगेको टिप्पणी गरेका छन्।
ब्राह्मण समाज नेपाल झापा जिल्ला समिति र दमक नगर समितिद्वारा आयोजित दुई दिने सिंगिनी नाच, बालन तथा खैजडी प्रशिक्षणसहित संस्थापक सम्मान कार्यक्रममा बोल्दै थापाले संविधानले सबै जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षणको व्यवस्था गरेको उल्लेख गरे पनि व्यवहारमा विभेद कायम रहेको दाबी गरे।
उनले संविधानमा १२० भन्दा बढी जातजाति र भाषाभाषी समुदायको संरक्षणको व्यवस्था रहेको तथा सबैलाई समान रूपमा हेर्ने व्यवस्था गरिएको बताए। सबै समुदायका आफ्नै सांस्कृतिक पहिचान र रीतिरिवाज रहेको उल्लेख गर्दै उनले लोपोन्मुख अवस्थामा रहेका सिंगिनी नाच, खैजडी र बालनजस्ता संस्कार र संस्कृतिको संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व र जिम्मेवारी भएको बताए।
संविधान जारी भएपछि सबै जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने जिम्मेवारी राज्यले लिएको भए पनि व्यवहारमा क्षेत्री–बाहुनसहित केही समुदायले विभेदको अनुभूति गरिरहेको उनको भनाइ थियो।
थापाले कर्मका आधारमा समाजमा विभिन्न वर्ण र समुदायको विकास भएको उल्लेख गर्दै क्षेत्री र ब्राह्मण समुदायबीच अधिकारका विषयमा पर्याप्त एकता हुन नसकेको बताए। “हामीले ब्राह्मण र क्षेत्रीको हकअधिकारका लागि लड्यौं, तर छुट्टाछुट्टै लड्दा हाम्रो शक्ति कमजोर बन्यो र अधिकार सुनिश्चित गर्न सकेनौं,” उनले भने।
उनले राजनीतिक दलका आधारमा भने मानिसहरू एकजुट हुन सकेको तर आफ्ना समुदाय र भावी पुस्ताको भविष्यका लागि एकताबद्ध हुन नसकेको धारणा राखे। “हामी कांग्रेस, कम्युनिष्ट वा रास्वपाका रूपमा एक भयौं, तर आफ्नो अस्तित्व र अधिकारका लागि एक हुन सकेनौं। जातिभन्दा दल ठूलो ठान्यौं,” उनले भने।
थापाले राज्यका केही कार्यक्रम र सुविधामा विभेद भएको आरोपसमेत लगाए। उनका अनुसार सरकारी विद्यालयमा एउटै कक्षामा अध्ययन गर्ने विद्यार्थीमध्ये केहीलाई सुविधा उपलब्ध गराइँदा क्षेत्री–बाहुन समुदायका बालबालिका त्यसबाट वञ्चित हुने अवस्था रहेको छ।
वैदेशिक रोजगारीको प्रसंग उठाउँदै उनले गरिबीका कारण ठूलो संख्यामा क्षेत्री–बाहुन समुदायका युवा विदेशिन बाध्य भएको दाबी गरे। “हाम्रो धर्म, संस्कृति र परम्पराभन्दा चुनाव चिन्ह र राजनीतिक दल प्यारो भयो। हामीले आफ्ना अधिकारको विषयमा आवाज उठाउन सकेनौं,” उनले भने।
समुदायभित्र अधिकारका विषयमा पर्याप्त बहस र एकता हुन नसकेको उल्लेख गर्दै थापाले राजनीतिक निष्ठाभन्दा सामुदायिक हित र भावी पुस्ताको भविष्यप्रति सचेत हुनुपर्ने आवश्यकता औंल्याए । वर्तमान संवैधानिक व्यवस्थामा सुधारको आवश्यकता रहेको संकेत गर्दै उनले क्षेत्री–बाहुन समुदायले आफ्नो हकअधिकारका विषयमा संगठित रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रामकुमार थापासहित अतिथिहरूले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। केन्द्रीय सदस्य युवराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन बासुदेव भण्डारीले गरेका थिए ।
कार्यक्रममा समाजका संस्थापक व्यक्तित्वहरू मोहनप्रसाद भण्डारी, लक्ष्मीप्रसाद संगौला, भवकृष्ण खतिवडा, डिल्लीराम उप्रेती, नन्दीकेशर अधिकारी र हरिप्रसाद नेपाललाई सम्मान गरिएको थियो। बीचबीचमा भजनकीर्तनका गीतहरुलाई सबैलाई आनन्दीत तुल्याएको थियो ।
उक्त कार्यक्रम ब्राह्मण समाज नेपाल झापा जिल्ला समिति र दमक नगर समितिको आयोजनामा दमकस्थित पशुपति मन्दिरको सभाहलमा सम्पन्न भएको थियो । दमक नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
खगेन्द्र कार्की
२१ जेठ २०८३, बिहिबार ०३:४४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो