इटहरी । पहिचानवादीहरुले एमालेका नेताहरुलाई पहिचान विरोधीको संज्ञा दिएर सोही अनुसारका गतिविधि गरिरहँदा एमाले भने संकल्प् यात्रा लिएर माझ किराँत पसेको छ । नेकपा एमालेको संकल्प यात्रा उदयपुरको घुर्मिको कार्यक्रम सकेर टोली खोटाङ पुगेको छ । अध्यक्ष ओलीले नेतृत्व गरेको उक्त टोली आज खोटाङ सदरमुकाम दिक्तेलमा बस्ने बताइएको छ ।
एमाले कोशी प्रदेशका सहइन्चार्ज शेरधन राईले घुर्मिमा सफलतापूवर्क कार्यक्रम गरेर खोटाङ प्रवेश गरेको जानकारी दिए । कोशी प्रदेशमा आज सम्पन्न हरकपुरको कार्यक्रम र घुर्मिको कार्यक्रम सफल भएको र कुनै बाधा अवरोध नभएको उनले बताए । ‘आज हाम्रो टोली दिक्तेलमा बास बस्छ र भोली भोजपुरमा कार्यक्रम गर्छौं,’ उनले भने, ‘अहिलेसम्म कुनै बाधा अवरोध भएको छैन ।’
पहिचानवादी संघसंगठनहरुले भने एमालेको अभियानलाई अवरोध गर्न भन्दै बन्दको आव्हान गरेको थियो । त्यही क्रममा प्रहरीले १२ जना पहिचानवादीलाई पक्राउ गरेको छ ।
मंसिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपछाडी संकल्प यात्रा आज कोशी प्रदेशको उदयपुरस्थित घुर्मिबाट प्रवेश गरेको हो । यात्रालाई एमाले अध्यक्ष केपी ओली आफैंले नेतृत्व गरेका छन् ।
पहिचानवादीहरुले भने कोशी नामकरणको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसद र एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई पूर्वी पहाडी जिल्ला प्रवेशमा अवरोध गर्ने भन्दै बन्द आव्हान गरेका छन् । संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ् पुगेर सम्पन्न हुनेछ । कोशी प्रदेशमा भने आज ओखलढुंगा र उदयपुरको घुर्मीमा सभा आयोजना गरिएको हो ।
एमालेको कार्यक्रममा अवरोध गर्नेगरि पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिएको छ । सुरक्षाका सबै जोखिमलाई न्यूनीकरण गर्ने तयारीमा प्रहरी रहेको छ । एमालेको यात्रा समापन हुने दिन पुस २ गतेसम्म नै कडा सुरक्षा अपनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमस्थल र बसोबासस्थलमा कडाइ गरिनेछ ।
अभियान अब भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्नेछ भन्ने खबर हाम्रो मतले छापेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो