दमक । वर्षायाममा रतुवा खोलाको बाढीबाट हुने जोखिम न्यूनीकरण र नागरिकलाई सुरक्षित बनाउन दमक नगरपालिकाले वडा नं. १० मा रतुवा खोलाको डाइभर्सन निर्माणलाई तीव्रता दिएको छ । एसियाली विकास बैंक (एडीबी) को करिब १९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको तटबन्धन आगामी दिनमा दमकलाई खोलाजन्य विपद्को त्रासबाट मुक्त गराउने अपेक्षा गरिएको छ ।नगरप्रमुख रामकुमार थापाको नेतृत्वमा बुधबार गरिएको स्थलगत अनुगमनका क्रममा डाइभर्सन निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख रहेको जानकारी दिइयो । हाल रतुवा खोलाको किनारमा दुई खण्डमा काम भइरहेको छ । एउटा क्षेत्रमा ८ सय मिटर र धरानटोल दक्षिण पाँचथरे क्षेत्रमा ८ सय ७५ मिटर लामो डाइभर्सन निर्माण भइरहेको छ । नगरप्रमुख थापाले बाँकी संरचनासमेत पूरा भएपछि वर्षेनी बाढीको जोखिम झेल्दै आएका स्थानीयले राहत पाउने विश्वास व्यक्त गरे ।त्यसैगरी, वडा नं. १० मा नागरिकको अर्को महत्वपूर्ण आवश्यकताका रूपमा रहेको दाहसंस्कार स्थल निर्माणको काम पनि अघि बढाइएको छ । स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको व्यवस्थित अन्त्येष्टि स्थलको अभावलाई सम्बोधन गर्न नगरपालिकाले आवश्यक पूर्वाधार निर्माण गरिरहेको जनाएको छ । यसले मृतकको अन्तिम संस्कारलाई व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ ।अनुगमनका क्रममा अन्य विकास निर्माणका कामको पनि निरीक्षण गरिएको थियो । सेतुमारी क्षेत्रको बिहीबारे बजार स्तरोन्नति भईरहेको छ । व्यवस्थित बजारका लागि टहराहरु बनाउने, बाटोमा टाइल लगाउनेलगायतका कामहरु धमाधम भईरहेका छन् । स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।उक्त क्षेत्रमा छिटफुट रहेका केही बाटाहरु पनि धमाधम बनाउने काम भईरहेको छ । पिपलचोक– स्वामी चोकसम्मको शान्ति टोेलमा १९ सय मिटर बाटो व्यवस्थित ढंगबाट बनिरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सरकारको ३ करोड बजेटमा निर्माण भईरहेको सो बाटोसहित अन्य धेरै बाटाको निर्माण कार्य आर्थिक मन्दीको कारणले निर्माण व्यवसायीले बन्द गरेको वडा अध्यक्ष भण्डारीले सुनाए । मानिसको मृत्यु भईसकेपछि अन्तिम संस्कार गर्ने ठाउँको अभावलाई पुरा गर्न दाहासंस्कार स्थल निर्माण समेत भईरहेको छ । यस्तै कोटेश्र ऐतिहासिक शिव मन्दिर जहाँ मन्दिरको पूर्वपट्टि सामूहिक योगदानको भवन निर्माण भईरहेको छ । सुविधासम्पन्न भवन निर्माणका लागि वडा कार्यालयबाट ५ लाख, मेयरको कोषबाट ५ लाख र पुराण लगाएर उठेको रकम २० गरी ३० लाखको लागतमा भवनको निर्माण भईरहेको टोल विकास संस्थाका अध्यक्ष काजीमान थापाले बताए । सो वडामा अझै धेरै संरचना बनिरहेको र समयअभावले फेरी अर्को कुनै दिन अनुगमन हुने नगरप्रमुख थापाले बताए । 
खगेन्द्र कार्की
२१ जेठ २०८३, बिहिबार ०८:०१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो