दमक । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालले पदबाट राजीनामा दिएका छन्। शैक्षिक क्षेत्रमा दलगत राजनीतिक प्रभाव अन्त्य गर्ने नयाँ सरकारी नीतिसँगै उनको राजीनामा आएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा हुने राजनीतिक नियुक्ति खारेज गर्ने रणनीति अघि बढाएपछि दबाब बढेको थियो ।
यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री अशोक कुमार राईको कार्यकालमा उपकुलपति नियुक्तिका लागि स्पष्ट कार्यविधि बनाइएको थियो । सोही प्रक्रियाबाट प्रा.डा. केशरजंग बराल नियुक्त भएका थिए। तर पछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनलाई १३ महिनामै राजीनामा दिन बाध्य बनाइएको थियो। उनले विश्वविद्यालयमा दलगत हस्तक्षेपका कारण स्वतन्त्र रूपमा काम गर्न नसकेको गुनासो गरेका थिए ।
बरालपछि शिक्षामन्त्री रघुजी पन्त नेतृत्वको समितिले स्थापित प्रक्रिया तोड्दै अर्याललाई उपकुलपतिमा सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा २०८२ असार २५ गते ओली सरकारले उनलाई नियुक्त गरेको थियो । यसले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप झन् बढेको आरोप लाग्दै आएको थियो ।
नयाँ सरकारले शैक्षिक क्षेत्रमा राजनीतिक प्रभाव न्यूनीकरण गर्ने नीति लिएको छ । सोहीअनुसार राजनीतिक आधारमा नियुक्त पदाधिकारीलाई राजीनामा दिन आग्रह गरिएको थियो । आग्रह नमाने अध्यादेशमार्फत नियुक्ति खारेज गर्ने तयारीसमेत गरिएको छ, जसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ ।
अध्यादेश आउनुअघि नै उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष र रजिष्ट्रारले संयुक्त रूपमा राजीनामा दिएका छन्। यस घटनाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको विषय फेरि चर्चामा ल्याएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो