नागरिक अभिनन्दन पूर्व राजा ज्ञानेन्द्रको कि राजसंस्थाप्रतिको विश्वास र प्रेम

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । पूर्व राजा ज्ञानेन्द्र शाहले वीरेन्द्र राजाको वंशनाश भएपछि राजा बन्ने सुनौलो अवसर प्राप्त गरे । उनले २०५८ सालदेखि २०६२–०६३ सालको जनआन्दोलनको समेत सामना गरेर राजगद्दी नै समाप्त पार्नु उनको बाध्यता थियो कि निर्णय क्षमताको कमी ?  जनताको अपेक्षालाई बेलैमा बुझेर राजसंस्थाको गरिमा बचाउनु भन्दा व्यक्तिगत घमण्ड र गलत सूचनाका आधारमा शासन सञ्चालन गर्नुको परिणाम अन्ततः राजसंस्थाको अन्त्य भयो । वीरेन्द्रको वंशनास भएपछि पनि उनी राज्यशक्तिको प्रमुख रहँदा पनि त्यो दरबार हत्याकाण्डको ठोस छानविनमा योगदान पु¥याउन सकेनन भन्ने अर्को आरोप पनि उनले खेपेका छन् । त्यसकारण पनि ज्ञानेन्द्रमा पनि त्यति ठूलो निर्णय क्षमताको अभाव देखियो ।

विश्वकै पहिचान बनेको नेपालको हिन्दु राज्य र राजसंस्था जोगाउने ध्येय चाहि ज्ञानेन्द्रमा हुनुपर्ने हतास मनस्थितिले सिधै छोडदिएर अहिले पानी विनाको माछा झै यता र उता दौडिएर कराईरहेका छन् ? आखिर त्यो अवस्था किन आयो ? दलहरुलाई आरोप लगाईरहँदा आफूले के गल्ति गरे भन्ने महसुस, स्वमूल्याङ्कन उनले गरेकी गरेनन होला ? त्यसको खोजविन पछि होला तथापि नेपालीमा राजसंस्थाप्रति आगाध प्रेम, विश्वास र सम्बन्ध अझै स्थापित छ भन्ने कुरा चाहि ज्ञानेन्द्र पुगेका ठाउँमा भेला भएका नेपालीको संख्याले बताउँछ । अझै पनि राजसंस्था नै नेपाल र नेपालीको हितको एक मात्र संस्था हो भन्ने आम मानिसलाई लागेकै छ तर केवल त्यसको नेतृत्वमा सक्षम को छ भन्नेमा चाहि द्विविधा देखिन्छ ।

तर पनि त्यो संस्था स्थापनाका निम्ति नेपालीहरुको त्यो भिडले व्यक्तिविशेष भन्दा पनि राजसंस्था स्थापना कसरी गर्ने भन्ने मूल ध्ययेले तिनै पूर्व राजा ज्ञानेन्द्रलाई अभिनन्दन समेत गर्दै आइरहेका छन् । पाँच महिनादेखि झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न सार्वजनिक कार्यक्रमहरूमा भेटघाट र भाषणबाट सक्रिय भएको महसुस गराउन थालेका छन् । जो जसले जहाँ जुन प्रकारको कार्यक्रम आयोजना गरे पनि राजसंस्था जोड्नेहरुको निम्तामा उनी पुग्ने पछिल्लो दृष्टान्त उनको देखिएको छ । विवादित दुर्गा प्रसाईको व्यक्तिगत कार्यक्रम देखि इनरुवामा नागरिक अभिनन्दनमा समेत सहभागी भएका छन् ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक दलका गतिविधिप्रति असन्तुष्टि पोख्ने थलोको रुपमा प्रयोग गरे । त्यो अभिनन्दन ज्ञानेन्द्रलाई नभएर राजसंस्थाको अभिनन्दन हो भन्ने आम मानिसको बुझाइ पनि हो । तिनै कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले बोल्दा दल लक्षित सन्दर्भहरुलाई मुख्य रुपमा कोट्याउने र आरोप र आक्षेपहरु लगाउने गरेका छन् ।

केही दिन अगाडि इनरुवामा भएको नागरिक अभिनन्दनमा पनि यस्तै सुनियो, पढियो र लेखियो । उनले दलहरुले धन, पद, कद दिएर र लोभ्याएर देशको सामाजिक संरचना च्यातेको ठूलो आरोप दलहरुलाई लगाएका छन् ? तर दलहरु उनले जे जति आरोप लगाए पनि मौन रुपमा स्वीकार समेत गरिरहेका छन् । कुनै प्रतिवादमा दलहरु नउत्रिनुले के साँच्चिकै पूर्व राजाले भने झै सामाजिक संरचना च्यातिएकैछ त भन्ने मूल प्रश्न पनि उब्जाएको छ । यसमा दलहरुले स्पष्टिकरण दिन आवश्यक छ । त्यति मात्र होइन उक्त कार्यक्रममा श्री ५ नै उल्लेख गरेका ब्यानर पनि देखिएका थिए ति ब्यानर पछि हटाइए पनि त्यो प्रकारका गतिविधिमा लगाम कसले लगाउने ? भन्नेमा स्पष्ट हुन आवश्यक छ । 

सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए ।

तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको स्पष्ट आरोप छ ।

परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने बताउँदै पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झी हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताए । अरु के भने पूर्व राजा ज्ञानेन्द्रले सो अभिनन्दनका क्रममा पूर्ण पाठ पढौं । 

उपस्थित दीदीबहीनी तथा दाजुभाइहरु,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकाँक्षा तथा आवश्यकताहरुलाई औँलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यता भित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधै राम्रो लाग्छ, हामीलाई सधै प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ ।

तपाईंहरुले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौं । आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिँदैन ।

निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चयपनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ । राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो ।

आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहंम धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईंहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुदै जावोस । धन्यवाद । जय नेपाल ।

खगेन्द्र कार्की
प्रतिक्रिया